पाँचथर । वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा गएराति बाढीपहिरोले घरगोठ, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले हालसम्म वडा नं १ मा दुईवटा घर र वडा नं १ र २ मा गरी तीनवटा झोलुंगे पुल बगाएको छ ।
हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ । वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्णरुपमा बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङखण्ड सुचारु गराउने पहल सुरु भएको छ ।
सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण संकलन थालेको र हालसम्म दुईवटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए ।
यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ ।
हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ ।
गएराति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया