समिति बैठकमा पत्रकारलाई निषेध गरेर राज्यले लोकतन्त्रको खिल्ली उडायो : अर्जुननरसिंह केसी

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुमबासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा) को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो ।

उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै समिति सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गर्नु पारदर्शिताविपरीत भएको बताए ।

उनले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगलाई बैठकमा सहभागि नगराउनु एकदमै आपत्तिजनक विषय भएको भन्दै अब बस्ने समितिको बैठकमा यो विषयलाई गम्भीरतापूर्वक उठाउने बताए ।

उनले भने, ‘बनेको होल्डिङ सेन्टरको प्रतिवेदन र विपद् व्यवस्थापनको विषयमा छलफल भयो । यी दुई वटै विषयमा छलफल भइरहेको छ । सञ्चारकर्मीहरुलाई निषेध गर्ने कुरा गम्भीर हो । यस विषयमा म अब बस्ने बैठकमा गम्भीरताका साथ उठाउँछु । प्रेसलाई खुला रुपमा छोड्नुपर्छ । छलफलमा कसको के हो विचार हो जनताले जस्ताको त्यस्तै थाहा पाउनुपर्छ भन्ने पक्षमै छु म ।’

राज्य व्यवस्था तथा सुशासन समिति प्रशासन, सुशासन, सार्वजनिक सेवा र कानूनी संरचनासम्बन्धी विषयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने संसदीय निकाय भएको कारण सञ्चारमाध्यमको सहभािगता अझै सहज बनाउनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?