काठमाडौं । सरकारले नेपालमा कानुनी रुपमा दर्ता नभई सञ्चालनमा रहेका ड्राइभिङ तथा राइड–शेयरिङ एप्लिकेसन (एप) हरूमाथि निगरानी बढाउने भएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दर्ता बिना चलिरहेका यस्ता डिजिटल प्लेटफर्महरूलाई नियमनको दायरामा ल्याउन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिएका हुन् ।
शुक्रबार सिंहदरबारमा आयोजित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले यातायात क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सबै प्रकारका सवारी साधनलाई एपमार्फत सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन भइरहेको समेत प्रष्ट पारे ।
सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार प्रविधिमा आएको परिवर्तनसँगै मन्त्रालयअन्तर्गतका पुराना र असान्दर्भिक भइसकेका सबै कानुनहरूलाई समयानुकूल परिमार्जन गर्ने गरी गृहकार्य सुरु भइसकेको छ । सरकारले खरिद प्रक्रियामा रहेका कानुनी जटिलतालाई फुकाएर यसलाई थप सरल र पारदर्शी बनाउने दिशामा समेत काम अघि बढाएको छ ।
बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयमार्फत सञ्चालन भइरहेका विभिन्न सूचना प्रविधिसम्बन्धी परियोजनाहरूको प्रभावकारिता मापन गर्न निरन्तर अध्ययन र समीक्षा भइरहेको समेत बताए ।
सरकारले एकातिर नियमनलाई कडा बनाउँदै लैजाने र अर्कोतिर नयाँ प्रविधिमैत्री व्यवसाय (स्टार्टअप) लाई प्रोत्साहन गर्ने सन्तुलित नीति लिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया