हिरासतबाटै राज्यलाई दुर्गा प्रसाईँको खुला चुनौती

लोकपथ
2k
Shares

काठमाडौं । केही दिनअघि पर्साको वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूलाई सरकारले बिना काममा थुनेको दाबी गरेका छन् ।

हाल प्रहरी हिरासतमा रहेका प्रसाईँले हिरासतबाटै राज्यका नाममा खुला पत्र जारी गर्दै आफूमाथि राज्यले अन्याय गरेको बताए ।

उनले आफूले जिल्ला प्रशासनसँग अनुमति लिएर वीरगञ्जमा मन्दिर दर्शन गर्नेदेखि लिएर शान्तिपूर्ण कोणसभा गर्न लागेको तर राज्यले त्यसबाट त्रसित भएर आफूलाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए । आफूलाई पक्राउ गर्ने नै भए किन प्रशासनले अनुमति दियो ? भन्दै प्रश्न अघि सारेका छन् ।

‘‘अनुमति पत्र’ कि ‘पक्राउ गर्ने पासो ?’ कठघरामा संघीय लोकतान्त्रिक गणतन्त्र ! के यो देशमा कानुनको राज मरेकै हो ? हेर्नुहोस् यो आधिकारिक पत्र ! जिल्ला प्रशासन कार्यालय, पर्साबाट विधिवत रूपमा प्रक्रिया पुर्‍याएर, लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्‍यो । म यो ‘लाचार’ र ‘दोषी’ राज्य सत्तालाई सीधा प्रश्न गर्न चाहन्छु । दोष मेरो हो कि राज्यको ? यदि पक्राउ नै गर्नु थियो भने, जिल्ला प्रशासन कार्यालयले यो स्वीकृतिको नाटक किन रच्यो ? के यो प्रशासनले नागरिकलाई फसाउन थापेको वैधानिक पासो हो ?,’ उनले भनेका छन् ।

प्रसाईँले सामाजिक सञ्जालमा लेखेका छन् :

‘अनुमति पत्र’ कि ‘पक्राउ गर्ने पासो’ ? कठघरामा संघीय लोकतान्त्रिक गणतन्त्र ! के यो देशमा कानुनको राज मरेकै हो ? हेर्नुहोस् यो आधिकारिक पत्र ! जिल्ला प्रशासन कार्यालय, पर्साबाट विधिवत् रूपमा प्रक्रिया पुर्‍याएर, लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्‍यो । म यो ‘लाचार’ र ‘दोषी’ राज्य सत्तालाई सीधा प्रश्न गर्न चाहन्छु : दोष मेरो हो कि राज्यको ? यदि पक्राउ नै गर्नु थियो भने, जिल्ला प्रशासन कार्यालयले यो स्वीकृतिको नाटक किन रच्यो ?

के यो प्रशासनले नागरिकलाई फसाउन थापेको वैधानिक पासो हो ?

लाखौँ नेपालीको रगत र पसिनाबाट आएको भनिएको यो ‘गणतन्त्र’ मा एउटा नागरिकले अनुमति लिएर पनि आफ्नो आस्था प्रकट गर्न नपाउने, बोल्न नपाउने ? यदि अनुमति पत्र खल्तीमा बोकेर हिँड्दा पनि अपराधी झैँ समातिनुपर्छ भने, सम्झिनुस् देश कुन भयानक र अराजक दिशातिर जाँदैछ । प्रशासन आफैँले हस्ताक्षर गरेर दिएको पत्रलाई सडकमा गुड्ने प्रहरीले लत्याइदिन्छ भने यहाँ विधिको शासन कहाँ छ ?

यस्तो दोधारे र कायर चरित्र बोकेको राज्य व्यवस्थाले नागरिकको सुरक्षा गर्छ भनेर कसरी पत्याउने ? आफ्नो गल्ती लुकाउन र नागरिकको आवाज दबाउन प्रशासन कतिसम्म नाङ्गो नाच नाच्न सक्छ भन्ने प्रमाण यही पत्र र मेरो पक्राउ हो । तपाईंहरू जतिसुकै डण्डा बर्साउनुस्, जतिसुकै थुन्नुस्– तर याद राख्नुस्, राज्यको यो लाचारीपन, दमन र कायरताले हाम्रो आवाज र हाम्रो निष्ठालाई कहिल्यै दबाउन सक्ने छैन। आज म पक्राउ परेँ, भोलि तपाईंको पालो आउन सक्छ। यस राज्य प्रायोजित अन्यायविरुद्ध अब नबोल्ने हो भने भोलि सोध्ने अधिकार पनि बाँकी रहने छैन ! ‘सत्ताको न्यानो आसनमा बसेर मेरै विरुद्ध हतकडी तयार गर्नेहरूलाई एउटै कुरा भन्नु छ, यो सत्ता तिमीहरूले जितेको होइन, मेरो आन्दोलनले उपहार दिएको हो ! हिजोकाले पनि थुने, आज तिमीहरूले पनि थुन्यौ । तर याद राख, समयको चक्र घुमिरहन्छ। पालो सबैको आउँछ, आउँछ । फेरि पनि भन्छु
सत्ताको आडमा मलाई हिरासतमा राख्नेहरूले के ठानेका छन् ? म एक्लो छु ? म माता पाथीभराको भक्त हुँ। ममाथि भएको यो अन्याय माताले हेरिरहनुभएको छ। हेक्का रहोस्, माताको शक्ति प्रकट हुने दिन तिमीहरूको पतनको दिन हुनेछ। दिन सबैको आउँछ, तिमीहरूको पनि छिट्टै आउनेछ ! जय मा पाथीभरा
हिरासत बाट राज्यलाई खुल्ला पत्र १ सचिवालय को सहयोग बाट !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?