पुराना र अव्यवहारिक कानून संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ : सभामुख अर्याल

लोकपथ
28
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्नेगरी कानून निर्माण हुनुपर्ने बताएका छन् ।

पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पुराना तथा असान्दर्भिक कानून संशोधन वा खारेज गरी प्रविधिमैत्री नयाँ कानून निर्माण गर्नु अहिलेको मुख्य विधायिकी जिम्मेवारी भएको बताए ।

अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कानून निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको टिप्पणी गरे । उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी व्यवस्थाको आलोचना गर्दै लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिने समयसीमा र केही अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति आपत्ति जनाए ।

लिखित परीक्षामा अनुत्तीर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत असर पुर्‍याएको उनको भनाइ थियो ।

उनले भने, ‘हामीभन्दा अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटहुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे मात्रै यो देश बस्न लायक र जनताले खोजेजस्तो बन्न सक्छ ।’

अर्यालले दुई पाङ्ग्रे सवारीका लागि १८ वर्ष र चार पाङ्ग्रे सवारीका लागि २१ वर्ष उमेर हद तोकिएको व्यवस्थामाथि पनि प्रश्न उठाए । ‘अत्यन्त असुरक्षित मानिने दुई पाङ्ग्रे सवारीका लागि कम उमेर र सुरक्षित मानिने चार पाङ्ग्रे सवारीका लागि बढी उमेर किन ? भन्दै उनले कानुन निर्माण गर्दा व्यवहारिक पक्ष र सामाजिक चेतनालाई बेवास्ता गरिने गरेको बताए ।

कानून निर्माण गर्दा प्रयोगकर्ता र सरोकारवालासँग पर्याप्त छलफल नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले राज्यका तीनै अंग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

अर्यालले स्रोत र साधनभन्दा पनि स्पष्ट नियत भए मात्रै नीति–नियमले सार्थक परिणाम दिने उल्लेख गर्दै आगामी दिनमा युवा सांसदहरूले जनजीविकासँग जोडिएका विषयमा प्रभावकारी कानून निर्माणका लागि सरकारलाई दबाब दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?