महावीर पुनको आरोप : ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा १५ लाखको चलखेल भयो

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको ‘कालो प्लेट’ (नम्बर प्लेट) वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी तथा मजदुरहरू चरम शोषणमा परेको दाबी गरे ।

उनले ट्याक्सी आयातमा सरकारले २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै ‘कालो प्लेट’ प्राप्त गर्नका नाममा थप १५ लाख रुपैयाँसम्म अवैध रूपमा असुली भइरहेको आरोप लगाए ।

सांसद पुनका अनुसार एउटा ट्याक्सी किन्न ३० देखि ३५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्थामा कालो प्लेटका लागि मात्र थप १५ लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ, जसले यो व्यवस्था ‘चरम सिन्डिकेट र भ्रष्टाचार’ को उदाहरण भएको संकेत गर्छ ।

उनले आफूले यस विषयमा यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरिसकेको उल्लेख गर्दै प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुनसक्ने आशंका व्यक्त गरे । उनले तत्काल छानबिन गरी यस्तो अभ्यास खारेज गर्न सरकारसँग माग गरे ।

‘एउटा ट्याक्सी किन्न ३०–३५ लाख खर्चनुपर्छ, त्यसमाथि कालो प्लेट पाउन १५ लाख रुपैयाँ अतिरिक्त बुझाउनुपर्ने बाध्यता रहेछ,‘सांसद पुनले भने, ‘यो चरम सिन्डिकेट र भ्रष्टाचार हो ।’

यसैबीच, सांसद पुनले देशभर टाउको दुखाइको विषय बनेको ‘बाँदर आतङ्क’ नियन्त्रणका लागि पनि केवल संसद्मा आवाज उठाएर मात्र समाधान नहुने बताएका छन् । उनका अनुसार यसको समाधानका लागि ठोस वैज्ञानिक अनुसन्धान र प्रविधिको आवश्यकता छ ।

उनले विगत सात वर्षदेखि यो विषय उठाउँदै आएको उल्लेख गर्दै राष्ट्रिय आविष्कार केन्द्रमार्फत करिब ५०–६० लाख रुपैयाँ खर्चेर अनुसन्धान प्रयास गरिएको जानकारी दिए । विश्वभर बाँदर भगाउने प्रभावकारी प्रविधि अझै विकसित नभएको भन्दै उनले सरकारले २ देखि ७ करोड रुपैयाँसम्मको अनुसन्धान बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याए ।

सांसद पुनले बाँदर नियन्त्रणका लागि गठन हुन लागेको विज्ञ टोलीप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफू पनि उक्त टोलीमा रहेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?