किसानको भुक्तानी १५ दिनभित्र सुनिश्चित गर्न सांसद अधिकारीको माग

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरूले उत्पादन बिक्री गरेपछि १५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उखु किसान, दुग्ध किसान लगायतले वर्षौंसम्म पनि आफ्नो रकम नपाउने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले मकवानपुरका दुग्ध किसानको मात्रै १४ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको उल्लेख गर्दै यो समस्या देशभरका किसानको साझा समस्या बनेको बताइन् । किसानले समयमै आफ्नो पसिनाको मूल्य नपाउँदा दाना, मलखाद, बालबालिकाको शिक्षा लगायत दैनिक आवश्यकता पूरा गर्नसमेत कठिनाइ हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

सांसद अधिकारीले किसानको आय सुनिश्चित नगरी मुलुकमा समृद्धि सम्भव नहुने बताउँदै युवाहरू उर्वर भूमि बाँझो छाडेर विदेशिन बाध्य भइरहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि ल्याउन सकिँदैन । मुलुकलाई खाद्यन्न मात्रै होइन, खाद्य आत्मनिर्भरता चाहिएको छ । त्यसैले किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्योट हुने कानुनी ग्यारेन्टी गरियोस् ।’

सांसद अधिकारीले कृषि क्षेत्रलाई टिकाउ र आत्मनिर्भर बनाउन किसानमैत्री नीति तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?