काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकार र प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको आरोप लगाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले सरकारका मन्त्रीहरू संसद्मा अनुपस्थित रहने र सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने प्रवृत्तिले संसदीय मर्यादा उल्लंघन भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलगायतका मन्त्रीहरू संसद्मा उपस्थित नहुनु प्रतिनिधिसभा सञ्चालन नियमावलीविपरीत भएको दाबी गरे । संसद्मा आएका मन्त्रीहरूले पनि स्पष्ट जवाफ नदिएको र थप प्रश्न सोध्न खोज्दा सभामुखले रोक लगाएको भन्दै उनले असन्तुष्टि जनाए ।
राईले संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले प्रश्न गर्न नदिनु गलत भएको बताए । उनले आफूले वैशाख २८ र २९ गते उठाएका प्रश्नको सरकारले अहिलेसम्म उत्तर नदिएको उल्लेख गर्दै यसलाई लोकतन्त्र र संसदीय अभ्यासका लागि दुःखद घटना भएको टिप्पणी गरे ।
सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन नसक्ने तर प्रतिपक्षलाई मात्र नियम सम्झाइरहने काम उचित नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया