हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो, प्रहरी टोली घटनास्थलतर्फ जाँदै

लोकपथ
119
Shares

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुगेको छ ।

एक्कासी परेको असिनापानीपछि आएको पहिरोले विद्यालय भवनसँगै खेतीयोग्य जमिन र गोठसमेत पुरिएको स्थानीय छक्कबहादुर तामाङले जानकारी दिए ।

पहिरोका कारण चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पुरिएका छन् । गोठमा रहेका भेँडाबाख्रामा समेत क्षति पुगेको बताइएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण भने अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए ।

उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकामा तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?