सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍यो : विष्णुदेवी पुडासैनी

लोकपथ
56
Shares

 काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले सरकारले निजी क्षेत्रलाई तर्साउने र धम्काउने काम गरिरहेको आरोप लगाएकी छन् ।

मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा बोल्दै उनले निजी क्षेत्र गम्भीर निराशामा रहेको बताइन् । 

८० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्ने र ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि चोटिलो प्रहार भए देश दीर्घकालीन आर्थिक संकटमा पर्न सक्ने चेतावनी उनले दिइन् ।

पुडासैनीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, रोजगारी, गुणस्तरीय सेवा तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणजस्ता विषय समेटिनु सकारात्मक भए पनि व्यवहारमा कार्यान्वयनबारे शंका रहेको बताइन् ।

उनका अनुसार सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउने भनिए पनि व्यवहारमा उल्टै तर्साउने र धम्काउने प्रवृत्ति देखिएको छ । निजी क्षेत्रलाई कमजोर बनाउने कुनै पनि कदम देशका लागि दीर्घकालीन रूपमा हानिकारक हुने उनको भनाइ थियो ।

त्यसैगरी उनले सरकारले व्यवस्थापिकालाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास गरेको आरोप लगाइन् । न्यायपालिकामाथि समेत हस्तक्षेप भएको भन्दै उनले प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता प्रणाली तोडेर कनिष्ठलाई अघि सारिएको दाबी गरिन् ।

साथै सुकुमबासी बस्तीमा डोजर चलाएर विस्थापित नागरिकलाई अलपत्र पारिएको भन्दै सरकारले मानवीय संवेदनशीलता गुमाएको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?