प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अध्ययनका लागि समय उपलब्ध गराउन एमाले नेता दंगालको माग

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभासद् तथा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न आग्रह गरेका छन् ।

उनले उजुरी र कार्ययोजनामाथि पर्याप्त अध्ययनका लागि समितिका सदस्यलाई समय दिनुपर्ने बताएका हुन् ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा धारणा राख्दै नेता दंगालले गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषणबिना प्रक्रिया अघि बढाउँदा सुनुवाइको गरिमा कमजोर हुने बताएका छन् ।

समिति सभापतिले प्रस्तुत गरेको कार्यतालिकाप्रति असहमति जनाउँदै उनले कार्यतालिका अत्यन्तै व्यस्त र हतारपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त १६ वटा उजुरी गम्भीर प्रकृतिका छन् र ती उजुरी तथा प्रस्तावित कार्ययोजनामाथि गहन अध्ययन आवश्यक छ ।

दंगालले इमेल र भौतिक रूपमा दर्ता भएका उजुरीसँगै प्रस्तावित प्रधानन्यायाधीशले पेश गरेको कार्ययोजनाको सूक्ष्म अध्ययनका लागि समय आवश्यक रहेको बताए । उनले उजुरीकर्तासँग छलफल र सुनुवाइको कार्यतालिका एकैपटक अघि बढाइएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘बैठकको समय पटक–पटक परिवर्तन गरेर हतारमा प्रक्रिया अघि बढाइएको छ । उजुरीकर्तालाई छलफलका लागि बोलाउने र लगत्तै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गर्ने कार्यतालिकाले विषयको गम्भीरतालाई न्याय गर्न सक्दैन । विस्तृत अध्ययनबिना सुनुवाइमा जानु हतारो मात्र हुन्छ ।

दंगालले उजुरी दर्ताका लागि १० दिनको समय दिइएको भए पनि अध्ययनका लागि भने पर्याप्त समय नदिइएको भन्दै कम्तीमा एक दिन समय छुट्याउन आग्रह गरे । समितिका सदस्यले सबै दस्तावेज अध्ययन गर्न कम्तीमा दुई दिन आवश्यक पर्ने भए पनि न्यूनतम एक दिन समय उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?