काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले ‘हर्क साम्पाङ’ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विकास आयोजना र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उनले सरकार संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताएका हुन् ।
विशेष प्लेकार्डसहित बैठकमा उपस्थित भएका सांसद राईले संविधान र कानुन भए पनि जनताले अझै खानेपानी, सडक र नुनजस्ता आधारभूत आवश्यकतासमेत सहज रूपमा प्राप्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
अर्थमन्त्रीलाई यसअघि बुझाइएको मागपत्र स्मरण गराउँदै उनले धरान र आसपासका क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरे । धरानको मुख्य समस्याका रूपमा रहेको खानेपानी समाधानका लागि ‘सप्तकोशी धरान खानेपानी आयोजना’ तत्काल सुरु गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, सर्दु, सेउती, सेरा र अँधेरी खोलामा तटबन्धन गरी बस्ती संरक्षण गर्न तथा फोहोर व्यवस्थापनका लागि ‘स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण गर्न बजेट व्यवस्था गर्न उनले माग गरे ।
सडक पूर्वाधारतर्फ धरान–बराहक्षेत्र–नडाहा सडक, भल्वाचौरी सडक, चतरा–सूर्यकुण्ड सडक तथा धरानका विभिन्न वडा जोड्ने सडकहरूको स्तरोन्नति र कालोपत्रेका लागि बजेट छुट्याउन उनले सरकारको ध्यानाकर्षण गराए । साथै, कोका खोला, मसाने खोला र निसान डाँडा क्षेत्रमा मोटरेबल पुल निर्माण गर्नुपर्ने मागसमेत उनले अघि सारे ।
सांसद राईले भुटानी शरणार्थीको पारिवारिक पुनर्मिलन, मुक्त कमैयाको समस्या समाधानका लागि कार्यदल गठन तथा राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीहरूको पद व्यवस्थापन गर्नुपर्ने विषयमा पनि जोड दिए ।
त्यसैगरी, विगतको आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारभित्रको कुनै एक संरचना पुनर्निर्माणका लागि आफ्नो पार्टीलाई अनुमति दिन सरकारसँग आग्रह गर्दै उनले सरकारी खर्चबिना श्रमदानमार्फत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संविधान र कानुन भए पनि जनताले गाँस, बास, कपास र पूर्वाधार नपाएको भन्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरे । ‘संविधान भएको देश, खाने धान नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश,भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया