काठमाडौं । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदारहरूलाई पठाउने कुरा प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।
उनले भनिन्,‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय । यस्ता अरू हजारौँ घटनाहरू छन् । यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ । नेपाल सरकारले सन २०१७ देखि नेपाली नागरिक विशेष गरी नेपाली महिलाहरूलाई घरेलु काममा विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो–शोषणबाट उनीहरूलाई सुरक्षा दिनु । के यो प्रतिबन्धले साँच्चै महिलाहरूलाई सुरक्षित बनायो त रु प्रतिबन्धले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्याउन एजेण्डहरुले विभिन्न वैकल्पिक रुट प्रयोग गर्दैछन । कहिले भारत हुँदै उनीहरूलाई बोर्डर क्रम गराइन्छ, कहिले तान्जानियालगायतका अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ । एजेण्ट जतातिर पनि नेपाली नै छन् । त्यसैले यी मानव बेचबिखनमा संलग्न एजेन्टहरू ध्वस्त हुन जरुरी छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरू बेच्ने काम गरिरहेका छन् ।’
प्रमुख सचेतक ओलीले सरकारले वैदेशिक रोजगारीका कारण पीडा सहन बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाइ गर्न नहुने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया