बालेनमा ‘म नै सबथोक हुँ’ भन्ने प्रवृत्ति हाबी भयो : प्रदीप पौडेल

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधामन्त्री बालेन्द्र शाह ‘बालेन’ ले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् ।

आइतबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका पौडेलले प्रधानमन्त्री बालेनको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए ।

ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताए ।

उनले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाए । राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उनको आरोप छ ।

उनले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताए । सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाई छ ।

उनले भने, ‘अहिले एकदमै धेरै ठूलो विश्वासका साथ सरकार बनेको छ । यो विधिको पक्षपाती हामीहरु नै हौँ । हामीले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका निम्ति केही पनि नगर्नेहरु जनताको विश्वास प्राप्त गरेर आउनुभएको छ । लोकतन्त्रको सुन्दरता नै यही हो । त्यसमा हाम्रो कुनै असहमति या रिजर्भेसन छैन । तर यतिबेला हाम्रो भनाइ के हो भने यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार यति चाँडै प्रश्नहरुको घेराबाट घेरिन थाल्यो भने नागरिकको निराशा झन् बढेर जान्छ । नागरिकहरु अति बढी निराश हुने, अब व्यवस्थाभित्रै विकल्प छैन कि भन्ने ढंगबाट सोच्ने जोखिम बढेको जस्तो हामीलाई लाग्छ । त्यसैले प्रतिपक्षको बेन्चमा बसेर हामी सरकार असफल होस् भनेर चाहिरहेका छैनौं । चुनाव अस्ति थियो, हामी हार्यौँ । फेरि अर्को चुनाव आउँछ । चुनाव आवधिक रुपमा आइरहने व्यवस्थाका पक्षपातीहरु पक्षपाती हामीहरु हौँ । यसकारण यो व्यवस्थाकै बर्खिलापमा जनमत बन्ने गरी सरकार प्रश्नहरुको घेरामा सिमित हुने स्थिति बन्ने त होइन रु अहिले भइरहेका कुराहरु प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन् । उहाँले जानीजानी संसदको उपेक्षा गर्नुभएको छ । त्यसैले संसदीय व्यवस्थाभित्र यो ढंगबाट संसदको उपेक्षा गर्न मिल्छ रु प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन रु त्यो उत्तरदायी उत्तरदायित्व निर्वाह नगर्न मिल्छ रु त्यसमा कैयौं प्रश्नहरु उठ्ने स्थिति बनाउन मिल्छ रु त्यसैले यो नजानेर होइन, जानीजानी भइरहेको छ । हिजोसम्म प्रधानमन्त्रीसँग राजस्व अनुसन्धान भयो, सम्पती शुद्धिकरण भयो, विशेष अनुसन्धान भयो भनेर विरोध गर्नेहरुले आज प्रधानमन्त्रीलाई कति शक्तिशाली बनाइरहनुभएको छ । आज प्रधानमन्त्री केन्द्रित सबै निर्णयहरु भइरहेको छ । हुँदाहुँदा ६ जनाको समितिमा ३ जनाले बहुमत पुग्ने स्थिति बनाउनुभएको छ । संसारमा यस्तो कहीँ पनि हुँदैन । त्यसैले सर्वमान्य मान्यताहरुको खिलाफमा जुन ढंगबाट काम भइरहेको छ, यसले नेपालको व्यवस्था माथि जोखिम बढेको त होइन रु लोकतान्त्रिक व्यवस्था माथि जोखिम बढेको त होइन रु प्रश्न र संशय उत्पन्न गरेको छ । यो बेलामा हामीले नेपाली कांग्रेस पार्टीले यति चाँडै प्रश्न उठाउन चाहँदैनथ्यो । तर हामीलाई पनि विपक्षी कहाँ छ रु संसदीय व्यवस्था भित्र दुईटा कित्ता हुन्छ । एउटा सत्ता पक्ष, अर्को प्रतिपक्ष । अब सत्ता पक्षको भूमिका हामीले अदा गर्न सक्ने स्थिति छैन । हामी यतिबेला प्रतिपक्षको भुमिकामा पुगेका छौं । प्रतिपक्षको भुमिका किटानी गरिएको हुन्छ, आज हामी भूमिका रहित छैनौं । भूमिका फेरिएको छ । फेरिएअनुसार भूमिका निर्वाह गर्न मानसिक रुपमा हामी तयार हुनुपर्छ । हामी अब विपक्षको भूमिकालाई कसरी प्रभावकारी ढंगले निर्वाह गर्न सक्छौं, त्यस अनुसार हामीले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यसैले विपक्षको भूमिका निर्वाह गर्दै गर्दा हामीलाई लोकतन्त्रवादीहरुले प्रश्न गर्न थाल्नुभयो, तपाईँहरु कहाँ हुनुहुन्छ रु के गरिरहनुभएको छ ? त्यसैले धेरै प्रश्नहरु सोध्ने स्थिति सरकारले बनाएको अवस्था छ । यस आधारमा हामीहरुले सरकारलाई यो सबै कुरा सोधेर प्रश्नहरुले घेराबन्दी गर्ने परिस्थिति निर्माण गर्न सक्नुपर्छ । त्यसमा हाम्रो भूमिका मात्रै पर्याप्त हुँदैन । सबै लोकतन्त्रवादीहरुको भूमिका यसमा जोडिनुपर्छ । ‘मैले गरेपछि कसले विरोध गर्छ रु म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान बन्दै गयो भने त्यो सबैथोक आफू भएको ठान्नेले लोकतन्त्र खाइदिन्छ । त्यसैले हामीले समयमै ‘तिमी सबैथोक होइनौ । तिमी पनि सिमित घेराभित्र छौ । राम्रो काम गर्यौ भने तिमीलाई समर्थन प्राप्त हुन्छ, नराम्रो काम गर्यौ भने तिमीलाई दिएको समर्थन फिर्ता हुन सक्छ’ भन्ने हामीले संकेत दिन सक्नुपर्छ । त्यस आधारमा हामीले भूमिका गर्न सक्नुपर्छ । सरकार सत्तामा पनि आफैँ छ अनि मल्टिपल आईडीबाट म्यानिपुलेट गरेर प्रतिपक्षमा पनि आफैँ बस्न खोजिरहेको छ । असत्य कुरालाई निरन्तर रुपमा सत्य हो भनेर भ्रम सिर्जना गर्ने जुन ढंगले सरकारले कोसिस गरिरहेको छ, त्यसलाई हामीले चिर्न सक्नुपर्छ । यो हाम्रो साझा दायित्व हो । राज्यको चरित्र डेमोक्रेटिक भएन भने राज्यले नागरिकलाई धेरै दुख दिन्छ । राज्य नागरिकको पक्षमा हुँदैन, राज्यले समान व्यवहार गर्दैन, राज्यले विधिको शासनलाई स्थापित गर्न सक्दैन । अहिले सरकारको चरित्र डेमोक्रेटिक भएको मान्न नसकिने थुप्रै तर्कहरु बनिसकेका छन् । त्यसैले राज्यको चरित्र फेरिएको आभास भएपछि हामीले त्यसलाई स्वीकार्न सक्दैनौं । यो डेमोक्रेटिक क्यारेक्टर भएको देश हामीले बनाउन खोजेको हो । त्यसकै निम्ति कांग्रेस जन्मिएको हो ।’

उनले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधामन्त्रीमा हाबी भएको आरोप लगाए । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?