काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संसद् र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताएका हुन् ।
उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराएका छन् । वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उनको प्रश्न छ । प्रधानमन्त्री शाहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ ।
उनले भने, ‘संविधानले नेपालको शासकीय स्वरूप बहुलबादमा बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संसदीय शासन प्रणाली हुनेछ भनेको छ । यहाँ एउटा प्रश्न जबरजस्त उठिरहेको छ, अहिलेको सरकारले कुन चाहिँ शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन व्यवस्थालाई अवलम्बन गरिरहेको हो की अरू कुनै शासन प्रणाली, अरू कुनै तन्त्र विकास गरिरहेको हो ? बजारमा एउटा कुरा छ, प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो की ? भन्ने आम जिज्ञासा बढिरहेको छ । यो किन भने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसद्को हुर्मत लिने, अपमान गर्ने काम गर्नुभएको छ ।’
उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरेका छन् । जनताका प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया