काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यस्तो टिप्पणी गरेका हुन् ।
उनले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा कर्मकाण्डी परम्परामा जलप लगाएको जसरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको टिप्पणी गरे । सांसद केसीले सरकारले नीति तथा कार्यक्रममा ‘हुनेछ’ र ‘गरिनेछ’ भन्ने शब्दहरु पढ्दा पढ्दा आफूहरु थकित भइसकेको समेत बताए ।
उनले भने, ‘झण्डै दुई तिहाई बहुमतबाट आएको सरकारले मुलुकलाई नयाँ दिशा निर्देश गर्छ कि भन्ने जुन आशा आम जनतामा थियो, हामीले पनि त्यस्तो केही आउँछ कि भनेर सोचेका थियौँ । तर मैले हेर्दाखेरी कर्मकाण्डी नीति तथा कार्यक्रममा कँही जलप लगाएर, रंगरोगन गरेर आएको जस्तो देखिन्छ । त्यो कति प्रभावकारी हुनेछ भन्नेकुरा बजेटपछि मात्रै थाहा हुन्छ । हुनेछ र गरिनेछ भन्ने शब्दहरु पढ्दा पढ्दा हामी थकित भइसकेका छौँ । वाचा गर्ने कार्यान्वयन नगर्ने प्रवृत्तिले हामी पछि पर्यौँ । त्यही परम्परालाई निरन्तरता दिने हो भने जनमत त स्थिर होइन नि ।’
प्रतिवद्धता दोहोर्याउने तर कार्यान्वयनमा नगर्ने प्रवृत्ति दोहोरिए जनतामा चरम निराशा बढाउने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया