सरकारको नीति कार्यक्रम आज : संसद् भवन परिसर झकिझकाउ

लोकपथ
0
Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ । 

यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुची कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गरे । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो । 

राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिङ्गारेर राष्ट्रिय झण्डाले झकीझकाउ पारिएको छ । 

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति  पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ । 

सङ्घीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्षमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो । 

त्यसअघि आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी विभिन्न आठ अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?