संविधान संशोधन गर्ने यो उपयुक्त समय होइन : नेता पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले अहिले संविधान संशोधनका लागि उपयुक्त समय नभएको बताएका छन् ।

शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय सार्वभौमिकता र जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू नै संकटमा परेको अवस्थामा संविधान संशोधनको बहस अघि बढाउनु जोखिमपूर्ण हुने बताए ।

नेता लिलामणी पोखरेल ले वर्तमान अवस्थामा लोकतान्त्रिक शक्तिहरू कमजोर हुँदै गएको र अधिनायकवादी प्रवृत्ति बलियो बन्दै गएको उल्लेख गर्दै संविधान संशोधनको ‘पेन्डोरा बक्स’ खोल्न नहुनेमा जोड दिए ।

उनका अनुसार संविधान राजनीतिक दलहरूबिचको सम्झौताबाट बनेको दस्ताबेज भएकाले यसमा अन्तर विरोध रहे पनि अहिले संशोधनको समय होइन । उनले भदौ २३ र २४ पछिको घटनाक्रमलाई प्रतिक्रान्तिको संज्ञा दिँदै राष्ट्रियता र वाम आन्दोलन नै संकटमा परेको दाबी गरे ।

पोखरेलले भने, ‘संविधान संशोधनको बहस अहिले उचित होइन । संघीय लोकतान्त्रिक गणतन्त्र नै जोखिममा छ, राष्ट्रिय सार्वभौमिकता संकटमा छ ।’

उनले हालको शक्ति सन्तुलन कमजोर रहेको अवस्थामा संविधान संशोधन अघि बढाइएमा राजनीतिक ‘बार्गेनिङ’ मा परिणत हुने र महत्त्वपूर्ण अधिकारहरू कमजोर बन्न सक्ने चेतावनी पनि दिए ।

उनले राजनीतिक दलहरूबिचको आन्तरिक कमजोरीकै कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै हतारमा संशोधन प्रक्रिया अघि बढाउन नहुने धारणा राखे ।

नेता पोखरेलले संविधान परिवर्तनशील भए पनि अहिलेको परिस्थितिमा अग्रगामी संशोधन सम्भव नभएको दाबी गर्दै तत्काल संविधान संशोधनको प्रक्रिया अघि नबढाउन राजनीतिक दलहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?