काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरुले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट्याएकी हुन् । मन्त्री गौतमले सांसदहरुले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताइन् ।
सरकार सांसदहरुले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाई थियो । उनले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरुले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराइन् ।
उनले भनिन्, ‘मैले जवाफ दिने सवालमा चाहीँ अबदेखि हामी एजेण्डा केन्द्रित भएर परपर्ली आयौँ भने, तयारीका साथ आउँदाखेरी सरकारले पनि यसमा के हो भनेर सरकारले पनि पोजिशन तयार गरेर तपाईंहरुको प्रश्नको जवाफ सरकारले स्पष्टसँग लिएर आउन सक्छ । त्यसकारण मैले एजेण्डा केन्द्रित भएर छलफल गर्न माननीय सदस्यज्युहरुलाई आग्रह गरेँ । अर्को समय व्यवस्थापनमा काम गर्न सकिएन भने जस्तो संसदको बैठकलाई नै हेरौँ । संसदमा हरेक माननीय सदस्यहरुलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ । तर समिति चाहीँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौँ । यसको मर्म के हो भने समितिमा विषयवस्तुहरु राख्दाखेरी साह्रै समयको पावन्दी नहोस् भन्ने हो । तर यहाँ पनि अनुशासनको सीमा भित्र रहेनौ र भनेको भनेकै गयौ भने बैठक त हामीले जति पनि लम्ब्याउन सक्छौ नि । विषयवस्तु एजेण्डाभित्र राख्दै गर्दा अरुले राखेको भन्दै छुट्टै खालको एजेण्डामा छलफल गर्दा बैठकलाई हामीले प्रभावकारी बनाउन सक्छौ भन्ने मलाई लाग्छ । सरकार तपाईहरुले उठाउनुभएको हरेक विषयमा संवेदनशील छ । तर यहाँ उठान भएका विषयबस्तुहरु एउटा फ्रेममा बसेर उठान गरियो भने यसलाई प्रभावकारी बनाउन सक्छौ । हाम्रो उद्देश्य भनेको जनताका चासोका विषयहरुलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्नु हो । संसदको नियममा रहेर काम गरौ, जसले गर्दा यसको कामलाई प्रभावकारी बनाउन सकियोस भन्ने म आग्रह गर्न चाहन्छु ।’
मन्त्री गौतमले संसद र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरुले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया