कांग्रेसको इतिहास र पुराना नेताको योगदान संस्थागत रूपमा संरक्षण गर्नुपर्छ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ऐतिहासिक योगदान, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेता दमन पाख्रेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा बोल्दै सभापति थापाले पुरानो हुनु नै खराब हुनु हो भन्ने गलत भाष्य समाज र राष्ट्रका लागि घातक हुने टिप्पणी गरे ।

उनले नेपाली कांग्रेसको इतिहास दमन पाख्रेल, दुर्गानन्द झा र रामनारायण मिश्रजस्ता योद्धा तथा विद्रोहीहरूको बलिदानमा आधारित रहेको उल्लेख गर्दै त्यसको संरक्षण पार्टीकै जिम्मेवारी भएको स्पष्ट पारे ।

पार्टी सुदृढीकरण र सुशासनका विषयमा बोल्दै उनले सार्वजनिक पदमा रहेका कांग्रेस प्रतिनिधिहरूलाई पारदर्शिता र इमानदारीका साथ काम गर्न निर्देशन दिए ।

उनले पार्टी सञ्चालनमा अवैध आर्थिक लेनदेन स्वीकार्य नहुने उल्लेख गर्दै लेभी प्रणालीमार्फत मात्रै पार्टी सञ्चालन हुनुपर्ने धारणा राखे ।

थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्दै प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए ।

साथै, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूसँग अर्थतन्त्रको वर्तमान अवस्था र प्राथमिकताका विषयमा विस्तृत संवाद गर्ने योजना रहेको बताए ।

उनले सुशासनका विषयमा शून्य सहनशीलताको नीति लागू गरिने स्पष्ट पार्दै एक सुका पनि अनियमितता स्वीकार्य नहुने चेतावनी दिए। साथै, पार्टीलाई सबै उमेर समूह, जाति र समुदायलाई समेट्ने साझा संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नेतृत्व समावेशी र एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै थापाले पार्टीभित्र वृहत् एकता आवश्यक रहेको बताए । उनले विभिन्न नेताका नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?