भीष्मराज आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा आङ्देम्बे र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

भेटका क्रममा आङ्देम्बेले सरकारले ल्याएका अध्यादेश र त्यसप्रति विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

आङ्देम्बेले विपक्षी दलहरूको बैठकको निष्कर्षसमेत प्रस्तुत गर्दै संसद् अधिवेशन बोलाइसकेपछि त्यसलाई रोकेर अध्यादेशमार्फत शासन गर्ने अभ्यासप्रति आपत्ति जनाएका थिए । उनले अध्यादेश जारी गर्ने प्रक्रियाप्रति विपक्षी दलहरूको असहमति रहेको पनि राष्ट्रपतिलाई अवगत गराएको बताइएको छ ।

सरकारले संसद् अधिवेशन स्थगित गर्दै अध्यादेशमार्फत विभिन्न निर्णय अघि बढाएको भन्दै विपक्षी दलहरू निरन्तर विरोधमा छन् । यसै सन्दर्भमा विपक्षी दलहरूले संयुक्त छलफल गर्दै अध्यादेश नल्याउन सरकारलाई आग्रह गरिरहेका छन् ।

यसअघि पनि विपक्षी दलहरूले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलाई लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?