सरकारको कार्यशैलीप्रति गगनको कटाक्ष– ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराएका हुन् ।

पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै थापाले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताए ।

सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानूनको शासन’ र ‘कानुनद्वारा शासन’ बिचको भिन्नता बुझ्न आग्रह गरे ।

लोकतन्त्रमा सरकार कानुनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानूनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको उनको आरोप छ । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको बताए ।

संवैधानिक परिषद् राज्यको अङ्ग भएको र यसमा प्रतिपक्षी दलको पनि भुमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उनको तर्क छ ।

श्रमिक दिवसको सन्दर्भमा थापाले संविधानको धारा १७ र ३४ ले प्रत्याभुत गरेका ट्रेड युनियन र सामूहिक सौदाबाजीको अधिकार कसैको सनक वा लहडमा खोसिन नसक्ने स्पष्ट पारे ।

उनले ट्रेड युनियन आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको स्वीकार गर्दै श्रमिकहरूको हकहितका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बिचमा सत्यको खोजी होला र अरूले बोल्लान् भनेर पर्खिएका थियौँ । तर अब मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखियो, त्यसैले यो व्रत तोड्नुपर्ने आवश्यकता छ । अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग ‘युद्ध अपराधी’ जस्तो व्यवहार गर्न मिल्दैन । कानुनको शासनमा परिणाम जत्तिकै प्रक्रिया पनि महत्वपूर्ण हुन्छ । हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौँ, खबरदारी गर्छौँ र विकल्प पनि सुझाउँछौँ । तर सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौँ, तर कमजोर छैनौँ ।’

निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार चलाउने र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको उल्लेख गर्दै थापाले कांग्रेसले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?