काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासनलाई म्याक्रो र माइक्रो तहमा विभाजन गरी सुधारका कार्यक्रम अघि बढाइरहेको स्पष्ट पारे ।
उनका अनुसार म्याक्रो सुशासन अन्तर्गत राज्यका नीति र संयन्त्रमा देखिने संस्थागत कब्जा तथा ‘क्लेप्टोक्रेसी’ प्रवृत्तिलाई अन्त्य गर्ने काम भइरहेको छ । माइक्रो सुशासन अन्तर्गत सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, कार्यालयमा हुने झन्झट अन्त्य र नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य सरकारको रहेको उनले बताए ।
‘हामी सुशासनलाई म्याक्रो र माइक्रो दुवै तहमा सुधार गर्दैछौँ । नीतिगत कब्जा र लुटतन्त्र अन्त्य गर्ने मोडमा हामी छौँ, ‘मन्त्री वाग्लेले भने ।
पछिल्लो समय केही व्यापारीमाथि भएको कारबाहीबारे उठेका प्रश्नप्रति स्पष्ट पार्दै उनले अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताए । तर इमान्दार व्यवसायीलाई भने डराउनु पर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।
‘गल्ती नगर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनु पर्दैन। तर अपराध गर्नेले उन्मुक्ति पाउँदैन, ‘उनले भने ।
उनले निजी क्षेत्रलाई देशको आर्थिक वृद्धि र विकासको मुख्य साझेदारको रूपमा चित्रण गर्दै अर्थतन्त्रमा यसको महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै यसको काम अब सम्बन्धित निकायमार्फत हुने बताए । उनले विगतमा भएका अनावश्यक अवरोध र असुली प्रवृत्तिलाई अन्त्य गरिएको दाबी गरे ।
सरकारले पुराना र असान्दर्भिक ऐनहरू खारेज गर्ने तथा कानुनी सुधार अघि बढाउने काम पनि सुरु गरेको उनले जानकारी दिए । साथै, निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै पूर्वाधार क्षेत्रमा नयाँ मोडलमा लगानी विस्तार गर्ने सरकारको योजना रहेको पनि उनले उल्लेख गरे ।
उनका अनुसार सरकार गठनपछि छोटो अवधिमै दर्जनौँ सुधारात्मक कामहरू अघि बढाइएको छ, जसमा सेवा प्रवाह डिजिटलाइजेसन र सीमा नाकामा देखिने झन्झट हटाउने पहल पनि समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया