काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार शक्ति केन्द्रिकरणमा लागेको आरोप लगाएको छ ।
हालै सरकारले दुई वटा अध्यादेश ल्याउने गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोही विषयमा प्रतिक्रिया जनाउँदै कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले शक्ति केन्द्रिकरण गर्न लागेको आरोप लगाएको हो ।
अध्यादेश सिफारिस गरिएको विषय बाहिरिएसँगै कांग्रेस प्रवक्ता देवराज चालिसेले बोलाइएको संसद अधिवेशन नै स्थगित गरेर सरकारको संसदप्रतिको विश्वास नै गुमाउने अवस्थामा पुगेको दाबी गरे ।
‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ । सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको हो ।
संवैधानिक परिषद् जस्तो संवेदनशील विषयमा अध्यादेशमार्फत् कानुन बनाउन लागिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया