काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुमबासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको दाबी गरेका छन् ।
सुकुबासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताएका हुन् । नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आलोचना गरे ।
उनले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गरे ।
उनले सुकुमबासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गरे । विशेषगरी दलित समुदायमा ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको तथ्य उनले बताए । काठमाडौं उपत्यकाभित्र सुकुमबासीसँगै ‘हुकुम्बासी’ (शक्ति र पहुँचका भरमा जमिन ओगट्नेहरू) पनि रहेको स्वीकार्दै उनले हुकुमबासीका नाममा वास्तविक सुकुम्बासीलाई आतंकित पार्न नहुने बताउनु भयो । नेपाल कृषिप्रधान देश भएपनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको संख्या ठूलो रहेको उनको टिप्पणी छ ।
उनले भने, ‘४० लाख भन्दा बढी जनता अहिले भूमिहीन अवस्थामा छन् । उनीहरूका परिवारको स्वामित्वमा एक चपरी पनि जमिन छैन । यदि साँच्चै यो समस्या हल गर्ने हो भने स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधार गर्नैपर्छ । यो त दमन चक्र बाहेक केही पनि होइन । १० वटा परिवारलाई व्यवस्थापन गरेर पुग्दैन, ४० लाख परिवारको समस्या हल गर्नुपर्नेछ । एकाध हुकुम्बासीलाई देखाएर डोजर चलाउने, बुट र बन्दुक देखाएर जनतालाई आतंकित पारेर समाधान हुने समस्या यो होइन ।’
पार्टीले यस विषयमा ठोस प्रस्ताव पारित गरेको र अब संसदीय दलमार्फत सरकारसँग छलफल गरिने पनि उनले जानकारी दिए । सडकबाट मात्रै सबै कुरा नहुने भन्दै संसदबाट हुने केही कुराहरु रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया