भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय 

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मतरुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिको निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गरिने भएको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।

यसअघि संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन गठित उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वको कार्यदलले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो । 

गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको जनाइएको छ । 

यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति शर्माबीच कुरा मिलेको थिएन । तर सोमबारको कार्यसम्पादन बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?