काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा र ७ जना उपरीक्षक (एसपी)लाई एसएसपीमा बढुवाका लागि गरेको सिफारिस विवादमा परेको छ ।
बढुवा समितिको सचिवालयले वैशाख ११ गते राति सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ ६ जनालाई डीआईजी र ७ जनालाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको, ऐ. नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको र बढुवा सिफारिसउपर चित्त नबुझ्नेहरूले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सूचनामा भनिएको छ ।


यो बढुवा सिफारिसप्रति चित्त बुझाउने र चित्त नबुझाउने दुवैतर्फ उल्लेख्य देखिन्छ । बढुवा सिफारिसमा नपरेकाले वरीयतालाई बेवास्ता गर्दै जुनियरलाई बढुवा सिफारिस गरिएको भन्दै प्रश्न उठाएका छन् भने सिफारिसमा परेकाहरूले विगतमा आफूहरूमाथि चरम अन्याय भएको, तर अहिले न्याय भएको रूपमा हेरेका छन् । यो विवाद यतिकै सकिनेवाला देखिँदैन । चित्त नबुझ्नेहरू उजुरीमा जाने तयारीमा छन् । भलै यस्तो उजुरी भने विगतमा एकाधबाहेक परेका छैनन् ।
अहिलेको बढुवा सिफारिसमा कसलाई न्याय र कसलाई अन्याय भयो भन्नका लागि उनीहरूको विगतको वरीयता हेर्नुपर्ने हुन्छ । अहिले बढुवामा जति पनि परेका छन्, सबै जना सशस्त्र प्रहरी निरीक्षक ब्याच २ का अधिकृतहरू हुन् । यो ब्याचका सशस्त्र प्रहरी निरीक्षकहरू नायव उपरीक्षक (डीएसपी) मा बढुवा हुँदा ६९ जना थिए । अहिले ६९ जनामध्ये केहीले जागिर छाडिसकेका छन् ।
२०५९ साल चैत ७ गते सेवा प्रवेश गरेका यी ६९ मध्येबाट अहिले दुई जना डीआईजी भइसकेका छन् । डीआईजी हुनेमा दीपेन्द्र कुँवर विष्णुप्रसाद भट्ट छन् । यो ब्याचका १५ जना २०७९ साल साउन ६ गते एसएसपीका लागि सिफारिस भएका थिए । यही मितिमा एसएसपीका लागि सिफारिस परेकामध्ये दीपेन्द्र कुँवर (ख) र विष्णुप्रसाद भट्ट २०८१ साल फागुन ८ गते डीआईजीका लागि सिफारिस भएका थिए ।

२०७९ साल साउन ६ गते एसएसपीका लागि बढुवा सिफारिस भएका १५ जनामध्ये अहिलेको डीआईजी सिफारिसमा दिगविजय सुवेदी, किरण बस्नेत र माधवप्रसाद पौडेल मात्र छन् । अहिले डीआईजीका लागि चौथो नम्बरमा बढुवा सिफारिसमा परेका प्रविण कँडेल ब्याच २ का अधिकृत होइनन् । उनी प्रहरीबाट स्थानान्तरण भएर सशस्त्रमा आएका हुन् । यद्यपि, उनी एसएसपीमा बढुवा हुँदासम्म ब्याच २ भन्दा अघिको वरीयतामा थिए । एसएसपी बढुवामा ब्याच २ भन्दा अघि भएपनि डीआईजी बढुवामा उनलाई ब्याच २ का कुँवर र भट्टले टपे । अहिलेको सिफारिसमा पनि उनी ब्याच २ का तीन जनाभन्दा पछि चौथो नम्बरमा छन् । अहिले डीआईजी बढुवा सिफारिसमा परेका पाँचौँ नम्बरका राजेश उप्रेती र छैटौँ नम्बरका नेत्रबहादुर कार्की २०८० साल साउन ३२ गते एसएसपीमा बढुवा सिफारिस भएका थिए ।
अहिले डीआईजी बढुवा सिफारिसमा असन्तुष्टि नै उप्रेती र कार्कीलाई लिएर भएको हो ।
अहिले उप्रेती र कार्कीको नाम सिफारिसप्रति प्रश्न उठाइएको भएपनि उनीहरूसहित ठूलो तप्कालाई तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले ठूलो अन्याय गरेका थिए । त्यतिबेला आईजीपी खनालले वरीयतामाथि हेलचेक्र्याइँ गरेकाले उनीहरू पछि परेका थिए ।
लोकपथलाई प्राप्त ब्याच २ का ६९ जनाको डीएसपीको सूचीमा १ देखि १० जनाको सूचीमा विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, राजेश उप्रेती, किरण बस्नेत, नेत्रबहादुर कार्की, माधवप्रसाद पौडेल, प्रकाशकुमार सुवेदी, दीपककुमार थापा, रविनराज कर्णजीत र राजेन्द्र खड्का छन् ।
तत्कालीन आईजीपी शैलेन्द्र खनालले २०७५ साल चैत ५ गते ३७ जनालाई एसपी बढुवा सिफारिस गर्दा तेस्रो नम्बरका डीएसपी राजेश उप्रेतीलाई १६ औँ नम्बरमा नेत्रबहादुर कार्कीलाई २८ औँ नम्बरमा पुर्याए । आफ्नो ब्याचको हिसाबमा उनीहरूलाई १४औँ र २६औँ नम्बरमा धकेलिएको थियो । त्यसैले पनि उनीहरूको वृत्ति विकासमा गम्भीर असर पर्न गयो । वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विगतमा उनीहरूमाथि भएको अन्यायलाई न्याय गरेका हुन् ।
२०७५ साल चैत ५ गते ३७ जनालाई एसपीमा बढुवा गरिँदा ब्याच २ का ३५ जना परेका थिए । त्यसबेला खनालले वरीयतामा कतिसम्म खेलाँची गरेका थिए भन्नका लागि यो सूची हेरौँ ।


६९ मध्ये डीएसपीको ६१ औँ नम्बरमा रहेका दीपेन्द्र कुँवर (ख) लाई एसपी बढुवामा ब्याच २ को हकमा १० औँ नम्बरमा ल्याइयो । उनलाई एसएसपी बढुवा हुँदा १ नम्बरमा ल्याउने काम भयो । उनी अहिले डीआईजी भइसकेका छन् । ६७ नम्बरका भूपेन्द्र केसीलाई ४ नम्बरमा, ३५ नम्बरका कमलप्रसाद तिउसिनालाई ५ नम्बरमा, ३६ नम्बरका नीरकृष्ण अधिकारीलाई ६ नम्बरमा, २५ नम्बरका सुधिरजंग थापालाई ७ नम्बरमा, ४ नम्बरका किरण बस्नेतलाई ८ नम्बरमा, ६ नम्बरका माधवप्रसाद पौडेललाई ९ नम्बरमा, ३८ नम्बरका उद्धवबहादुर न्यौपानेलाई ११ नम्बरमा, १० नम्बरका राजेन्द्र खड्कालाई १२ नम्बरमा, ५३ नम्बरका नरेन्द्र सेनलाई १३ नम्बरमा, ११ नम्बरका किरण ढुंगानालाई १५ औँ नम्बरमा पुर्याए ।
यतिसम्म कि, ७ नम्बरका प्रकाशकुमार सुवेदी, ८ नम्बरका दीपककुमार थापा, २२ नम्बरका सुभाष भण्डारी, १३ नम्बरका प्रदीपसिंह कार्की, १६ नम्बरका सुधिर सुवेदी, १७ नम्बरका महेश केसी, २१ नम्बरका चित्रांगत दाहाललाई ३५ जनाको सूचीमै अटाइएन । उनीहरूभन्दा धेरै जुनियरहरु डीआईजी र एसएसपी बनिसक्दा उनीहरू भने बल्ल अहिले एसएसपी बढुवा सिफारिसमा परेका छन् ।
यस्तै, तत्कालीन महानिरीक्षक खनालले ब्याच २ का ६९ डीएसपीमध्ये १४ नम्बरका गंगाराम श्रेष्ठलाई १५ नम्बरमा, ६४ नम्बरका शंकर खनाललाई १७ नम्बरमा, ११ नम्बरका किरण ढुंगानालाई १६ नम्बरमा, २४ नम्बरका भरत खनियालाई १९ नम्बरमा र ५२ नम्बरका तेजप्रसाद पोखरेललाई २८ नम्बरमा बढुवा गरियो ।
डीएसपीबाट एसपीमा बढुवा हुँदा व्यापकरुपमा रोलक्रम मिचिएको र एसपीबाट एसएसपीमा बढुवा हुँदा अपवादबाहेक त्यसैलाई आधार मानियो ।
ब्याच २ को हकमा २०७९ साल साउन ६ मा सिफारिस भएका १५, २०८० साउन ३२ मा १२, २०८२ साउन १९ मा ६ जना र २०८२ मंसिर ११ गते एक जनालाई बढुवा सिफारिस गरिएकोमा सबै जना गरी ३४ जना एसएसपी भइसकेका छन् । सात जना अहिले सिफारिस भएका छन् । अरू सबै एसपी नै छन् ।
एसएसपी बढुवामा यस्तो ‘झेल’ पनि गरियो
गृह मन्त्रालयले २०७९ साल साउन ६ गते १६ जनालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्दा पहिलो नम्बरमा प्रवीण कँडेल भए पनि ब्याच २ को हकमा दीपेन्द्र कुँवरलाई पहिलो वरीयतामा बढुवा गरिएको थियो । उनी डीएसपी हुँदा ६१ र एसपी हुँदा १० नम्बरमा थिए ।


कुँवरलाई एसएसपीमा बढुवा गर्नैका लागि सरकारले त्यसबेला सशस्त्र प्रहरी नियमावली २०७२ नै संशोधन गरेको थियो । नियमावलीको नियम ४० मा बढुवाका लागि ‘सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएकोमा कुँवरलाई बढुवा गर्नकै लागि सरकारले नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्ष मात्रै भए पुग्ने बनाएको थियो । नियमावली संशोधन नगरेको भए कुँवर त्यसबेला बढुवा हुन योग्य नै हुने थिएनन् । त्यसबेला यतिसम्म भएको थियो कि, नियमावली संशोधन गर्नेबित्तिकै कार्यान्वयनमा ल्याइएको थियो ।

कुँवरका सजिलो हुने गरी सरकारले गरेको त्यो नै पहिलो निर्णय थिएन । उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको थियो । एसपीबाट एसएसपी हुन चार वर्षको अवधि पूरा गरेको हुनुपर्ने भए पनि सशस्त्र प्रहरीमा एसएसपीको पद रिक्त भए वरिष्ठ एसपीहरूलाई नै कायममुकायम एसएसपीको दर्जा दिने चलन थियो । २०७७ माघमा सशस्त्र प्रहरीमा एसएसपीका आठ पद रिक्त भएका थिए । तर सरकारले एक वर्षसम्म कसैलाई कामु दिएन । जब ११ औँ नम्बरसम्म पद खाली भयो तब मात्रै कुँवर समेतलाई समेटेर कामु बनाइएको थियो ।


को को भए एसएसपी ?
ब्याच २ का ३४ जना एसएसपी भएकोमा २ जना दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट डीआईजी भइसकेका छन् । ६ जना डीआईजी बढुवा सिफारिसमा पर्नेहरूमा दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की छन् ।
भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, किरण ढुंगाना, शंकर खनाल, नरेन्द्र सेन, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनिया, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेल, ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर र समिककुमार महर्जन एसएसपी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया