काठमाडौं । बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया दलहरूबीच सहमति नहुँदा अन्यौलमा परेको छ । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सभामुख पदमा आ–आफ्नो दाबी कायम रहँदा सहमति जुट्न नसकेको हो ।
सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते पदबाट राजीनामा दिएपछि बागमती प्रदेशसभाको सभामुख पद रिक्त भएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने भए पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।
यसैबीच, वैशाख ८ गते सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भए पनि दलहरूबीच सहमति नजुटेकाले ढिलाइ भएको नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले जानकारी दिएका छन् । उनका अनुसार रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दुवै पक्षले दाबी गरिरहेका छन् ।
कांग्रेसले प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले सभामुख आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्दै आएको छ । सचेतक महर्जनले भने, ‘एमालेले पनि सभामुखको दाबी गरिरहेको छ, हामी सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्न चाहन्छौँ, ठूलो दलको नाताले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हो ।’
यता, एमालेले भने कांग्रेसबाट मुख्यमन्त्री बनेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार सत्ता सन्तुलनका आधारमा सभामुख एमालेले पाउनुपर्ने तर्क गरिएको हो । उनले दलहरूबीच विवाद नभई सहमतिबाटै प्रक्रिया अघि बढाउन खोजिएको कारण ढिलाइ भएको बताए ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले सरकार र सदनबीच सन्तुलन कायम गर्न प्रमुख प्रतिपक्षको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने बताएका छन् ।
उनले सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने चेतावनीसमेत दिएका छन् । ‘हामीले सत्तारुढ दललाई सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनेका छौँ,‘उनले भने, ‘शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वभाविक हो, सहमति नभए उम्मेदवारी दिन्छौँ ।’
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) ले पनि सभामुखमा आफ्नो दाबी गरेको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो दलबाट सभामुख भएका भुवनकुमार पाठकले राजीनामा दिएकाले पुनः सभामुख पद आफ्नो दलले पाउनुपर्ने बताएका छन् ।
एक सय चार सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३५, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया