काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले मानवीय दृष्टिकोण अपनाउँदै न्यायोचित समाधान दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकलाई बस्ती छोड्न बाध्य पारिँदा उनीहरूको पीडा पनि महसुस गर्नुपर्ने बताएका हुन् ।
सरकारले शनिबार बिहानदेखि उपत्यकाका विभिन्न स्थानका सुकुमबासी बस्ती खाली गराउन थालेसँगै थापाथली क्षेत्रको बस्ती पूर्ण रूपमा खाली भइसकेको छ ।
उनले भनेका छन्, ‘अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरूको आँखा र अनुहारमा देखिएको पीडा पनि देख्न सक्नुपर्दछ ।’
पोखरेलले ती श्रमिककै श्रम र पसिनाले सहर निर्माण भएको भन्दै उनीहरू बस्तीबाट विस्थापित हुँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त नहुने उल्लेख गरेका छन् ।
उनले प्रभावित परिवारलाई सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी भएको बताउँदै पूर्ववर्ती सरकारले समस्या समाधानका लागि कानुनी प्रक्रिया अघि बढाएको र भूमि आयोगमार्फत काम भइरहेको स्मरण गराएका छन् ।
पोखरेलले वर्तमान सरकारले जनताको विश्वास र भरोसालाई सम्मान गर्दै मानवीय र न्यायोचित समाधानतर्फ तत्काल अघि बढ्नुपर्ने पनि आग्रह गरेका छन् ।
उनले विश्वास गुमेका नागरिकको असन्तोष गम्भीर रूप लिन सक्ने भन्दै त्यसप्रति सचेत रहन समेत चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया