काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित गरेका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति पौडेलले आजै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा संसद अधिवेशन स्थगित गरेका हुन् ।
संसद अधिवेशन स्थगित गर्नुपरेको कारण खुलाइएको छैन ।
विशेष कारण भन्दै एक दिनअघि मात्रै बोलाइएको बैठक स्थगित गरिनुले सरकारको कामकारबाहीमाथि नै प्रश्न उठेको छ ।
संसद अधिवेशन स्थगित गरिएको पत्र हेर्नुहोस् :

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त बुधबार मात्रै राष्ट्रपति पौडेलले सरकारकै सिफारिसमा संसदको अधिवेशन आह्वान गरेका थिए । बजेट अधिवेशनका रुपमा लिइने अधिवेशन आगामी वैशाख १७ गतेका लागि बोलाएको थियो ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।
संसद अधिवेशन बोलाइएको पत्र हेर्नुहोस् :

आगामी जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता सरकारसँग रहेको छ । बर्खे अधिवेशनका रुपमा हेरिने उक्त अधिवेशन ढिला बोलाउँदा प्रि बजेट छलफल प्रयाप्त मात्रामा हुन नसक्ने जोखिम बढेको छ । त्यसो त यसअघि अघिल्ला वर्षहरुमा समेत प्रि बजेट छलफलका लागि प्रयाप्त समय नहुने गरेको भन्दै सरकारको आलोचना हुने गरेको थियो ।
तर सरकारले प्रयाप्त तयारी नै नगरी बैठक बोलाउने र विशेष कारण देखाउँदै पुनः स्थगित गर्ने प्रवृत्तिले सरकारको कमजोरी प्रष्ट देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया