गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकपथ
2.8k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

हालै बिचौलियाहरुसँग मिलेको देखिएपछि गृहमन्त्री गुरुङको चौतर्फी आलोचना भइरहेको थियो । यसैबिच केहीबेरअघि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भेटघाट गरेका सुधनले राजीनामाको घोषणा गरेका हुन् ।

आफ्नो लागि पद भन्दा ठूलो नैतिकता रहेको र जनविश्वास भन्दा ठूलो केही नहुने भन्दै राजीनामाको घोषणा गरे । आज देशमा सुशासन, पारदर्शिता र। जवाफदेहिताको माग उठिरहेको र जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसाथ गरेको बताए ।

‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।,’ उनले भनेका छन् ।

फागुन २१ को निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित भएका गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।

गृहमन्त्रीमा अन्य व्यक्तिहरुको नाम समेत चर्चा रहिरहेका बेला प्रधानमन्त्री बालेनले सुधनलाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । छोटो समय गृहमन्त्रीको जिम्मेवारीमा रहँदा उनी चर्चा र विवादको पात्र बनेका थिए ।

गृहमन्त्री बनेसँगै विभिन्न स्थानमा पुगेर निर्देशन दिनेदेखि सुरक्षा निकायहरुलाई नडराइ काम दिएको निर्देशन चर्चामा रहेको छ ।

गृहमन्त्री बनेको केही दिनअघि मात्रै सार्वजनिक भएको पोखराको फेवाताल किनारको सरकारी जग्गा भाडामा लिएको बाहिरिएसँगै उनको आलोचना भएको थियो । एकातिर एक्सन ओरियन्टेड मन्त्रीका रुपमा चर्चा भइरहँदा अर्कोतिर भने उनका पूराना अभिव्यक्तिहरुलाई समेत लिएर आलोचना हुने गरेको थियो ।

केही दिनअघि सार्वजनिक भएको सम्पत्ति विवरणलाई लिएर आलोचना भइरहेको थियो । उनले अस्वभाविक सम्पत्ति देखाएका कारण सम्पत्तिको स्रोत खोजि भइरहेको थियो । तर उनले आफ्नो हजुरबुबासहितको सम्पत्ति रहेको भन्दै प्रतिवाद गरेका थिए । उनले आफ्नो सम्पत्ति विवरणमा शेयर रहेको समेत खुलाएका थिए । तर कुन कम्पनी हो र खरिद गरेको स्रोत के हो भन्ने कुनै नखुलाइएको भन्दै आलोचना भइरहेको थियो । यसैबिच बिचौलिया दिपक भट्ट लगायतको लगानी रहेको लघुवित्त कम्पनीमा उनले मन्त्री बन्नुभन्दा केही दिनअघि मात्रै लाखौँको शेयर खरिद गरेको तथ्य बाहिरिएपछि उनको आलोचना भइरहेको थियो । तर उनले आफूले लगानी गर्न पाउने अधिकार रहेको भन्दै बचाउ गर्दै आइरहेका थिए ।

विधानमा नै राइट टू रिकलको प्रावधान राखेको रास्वपाले यसअघि नै विवादमा मुछिएपछि श्रममन्त्रीबाट दिपककुमार साहलाई हटाएको थियो । आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको आरोपमा स्पष्टीकरण समेत नसोधी उनलाई हटाइएको थियो । तर सुधनलाई भने संरक्षण गरिएको आरोप लागिरहेका बेला राजीनामा आएको हो ।
त्यसो त मंगलबार मात्रै सुधनले रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए । आज बालेनसँग भेटघाट गरेसँगै उनले राजीनामा दिएका हुन् ।

गृहमन्त्रीबाट राजीनामा दिँदै सुधनले भनेका छन् :

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?