कम्युनिस्ट आन्दोलन समाप्त भएको होइन, पुनर्जीवित हुँदैछ : प्रदीप ज्ञवाली

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई खडेरीमा पनि नओइलिने दुबो सँग तुलना गर्दै यसको भविष्य अझै जीवित र सक्रिय रहने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै विभाजन, चुनौती र विभिन्न प्रकारका धक्काहरू सामना गर्दै आएको उल्लेख गरे । तर ती सबै कठिनाइका बीच पनि आन्दोलन निरन्तर पुनर्जीवित हुँदै आएको उनको भनाइ छ ।

ज्ञवालीका अनुसार पछिल्लो वर्ष कम्युनिस्ट आन्दोलनका लागि सहज र अनुकूल रहेन । यसै परिस्थितिलाई आधार बनाएर केहीले आन्दोलनको अन्त्य भएको निष्कर्ष निकाल्न खोजे पनि त्यो गलत हुने उनको दाबी छ ।

उनले इतिहासकार फ्रान्सिस फुकुयामाको विचारधाराको अन्त्य सम्बन्धी चर्चित अवधारणालाई उल्लेख गर्दै त्यस्ता भविष्यवाणीहरू समयसँगै गलत सावित हुने टिप्पणी गरे ।

वर्तमान चुनौतीलाई सामान्य रूपमा लिन नहुने बताउँदै ज्ञवालीले पार्टी र आन्दोलनले आत्मसमीक्षा, संरचनागत पुनर्गठन र नयाँ परिस्थिति बुझ्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

उनले ७७औँ स्थापना दिवसलाई विगत सम्झने मात्र होइन, भविष्यका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आन्दोलनलाई नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?