पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा पुनर्गठन गर्नुपर्छ : झलनाथ खनाल

लोकपथ
28
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ औँ स्थापना दिवसको अवसरमा पार्टी तथा आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् ।

स्थापना दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उनले ७७ वर्षको लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अपेक्षित सामाजिक–आर्थिक रूपान्तरण हुन नसकेको बताएका छन् । उनका अनुसार शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा ठोस सुधार नदेखिएको र जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सम्बोधन हुन नसक्दा व्यापक असन्तोष बढेको छ ।

खनालले जनताको असन्तोषका कारण ठूलो संख्यामा नागरिक विदेशिन बाध्य भएको उल्लेख गर्दै केही शक्तिहरूले त्यसको फाइदा उठाएर आन्दोलनलाई दिशाहीन बनाएको आरोप पनि लगाएका छन् । उनले वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार २०७४ सालको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको वामपन्थी शक्ति २०८२ सालको निर्वाचनमा उल्लेख्य रूपमा कमजोर हुनु गम्भीर चिन्ताको विषय हो । उनले यसका कारणहरूको गहिरो विश्लेषण नगरी आन्दोलनलाई अघि बढाउन नसकिने बताएका छन् ।

खनालले नेताहरूले कार्यकर्तामाथि दोष थोपर्ने प्रवृत्ति त्यागेर आफ्नै कमजोरी पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । उनले आत्मालोचना गर्दै जनतासमक्ष प्रतिबद्धता जनाउन र पार्टीलाई वैचारिक, राजनीतिक, संगठनात्मक तथा कार्यशैलीगत रूपमा पुनःसंरचना गर्न आग्रह गरेका छन् ।

उनले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै नयाँ रणनीति बनाएर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । चुनौतीका बीच अवसर पनि रहेको उल्लेख गर्दै उनले समाजवादतर्फको यात्रा अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?