वामपन्थी एकता र मोर्चाबन्दी आजको आवश्यकता : प्रचण्ड

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेको उल्लेख गरेका हुन् ।

प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक बन्दै राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती सिर्जना गरिरहेको बताए । यस्तो अवस्थामा लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि साझा मोर्चा निर्माण अनिवार्य भएको उनको धारणा छ ।

उनले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनको आवश्यकता औंल्याउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता बनेको बताए । साथै, जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

विसं २००६ साल वैशाख ९ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी को स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । यसै सन्दर्भमा प्रचण्डले शोषण, दमन र विभेदका नयाँ स्वरूप अझै कायम रहेको उल्लेख गर्दै वास्तविक जनवादी व्यवस्था पूर्ण रूपमा स्थापित हुन बाँकी रहेको बताए ।

उनले व्लादिमिर लेनिन का विचार र शिक्षाहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनले उपेक्षित र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?