काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी प्रतिवेदन बुझाएको छ ।
मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले समयमा नै कार्य सम्पादन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनका लागि यसले सकारात्मक नजिर बसालेको बताए ।
उनले कुनै पनि काम समय सीमाभित्र सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महशुस हुने र जनताले पनि आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको महशुस गर्ने धारणा राखे । मस्यौदा तयार पार्ने क्रममा विशेषज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका सांसदहरूसँग व्यापक संवाद गरिएकोमा सभामुखले प्रशंसा गरे ।
विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेका कारण सबैले आफ्नो पार्टीसँग समेत संवाद गरेर यसलाई पूर्णता दिएको आफूले बुझेको उनको भनाइ थियो ।
उनले भने, ‘हामीले कुनै पनि काम समय सीमाभित्र सम्पन्न गर्दै गयौं भने तब मात्र हामीले आफूप्रति पनि त्यसमा गर्व गर्ने,महशुस गर्छौं र जनताले पनि हामीलाई जे कामका लागि पठाउनुभएको त्यो जनताले पाएको महशुस गर्नुहुनेछ भन्ने लाग्छ । समितिले प्रतिवेदन बुझाए पनि यो अन्तिम प्रक्रिया होइन । यसलाई सदनमा पेश गर्ने र संशोधनका लागि समय दिने व्यवस्था छ । यदि कुनै कमी कमजोरी वा त्रुटी छन् भने सुधार्ने मौका अझै बाँकी छ ।’
व्यवस्थापिकाको संरक्षकको हैसियतले सभामुखले समितिका सदस्यहरूले बिदा र समयको प्रवाह नगरी अहोरात्र खटेर कार्य सम्पन्न गरेकोमा व्यक्तिगत र संस्थागत रूपमा आभार प्रकट गरे ।
समितिले अघिल्लो प्रतिनिधि सभा नियमावलीमा भएका कतिपय व्यवस्थालाई परिमार्जन गरेको छ भने कतिपय नयाँ व्यवस्था थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया