काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने स्पष्ट पारेको छ ।
पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरे लगत्तै नेता खड्कामाथि सोधिएको स्पष्टीकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् ।
पार्टी मुख्यालय सानेपामा सोमबार अपरान्ह सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ७ दिनका लागि खड्कामाथि सोधिएको स्पष्टीकरणको म्याद अझै २ दिन भएकाले यस बीचमा अरु अन्य कुनै पनि निर्णय गर्न नसकिने अडान राखे ।
पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हट्न नमिल्ने संयोजक गुरुङको भनाई थियो ।
संयोजक गुरुङले भने, ‘स्पष्टीकरणको प्रक्रिया भनेको हामी लिखित रुपमा अगाडि बढेपछि त्यसको विधि छ, प्रक्रिया छ । मैले फेरिपनि दोहोर्याएर भने– आज ५ दिन भयो । अझ २ दिन बाँकि छ । सात दिन पुग्छ । सात दिन पुगेपछि त्यो विधि र प्रक्रिया फेरि आफ्नो बाटोबाट अगाडि बढ्छ । स्पष्टीकरण नदिने कुरा कल्पना पनि गर्न सकिदैँन । हामी विधान बमोजिम चलिराखेका छौँ । यो व्यक्तिको कुरा होइन, संस्थाको कुरा हो । यो पार्टी हो, जनताको पार्टी हो । जनताको लागि नेतृत्व गर्ने पार्टी हो । नेपाली कांग्रेस भनेको इतिहास बोकेको पार्टी हो । त्यसले गर्दा यहाँ व्यक्तिको कुरा नै आउँदैन । र, यो कसैलाई रिसइवी साँध्ने ठाउँ होइन । नेपाली कांग्रेसको अनुशासन समिति भनेको पार्टीको उच्च तहको निर्णय हो ।’
नेता खड्कालाई समितिको वैशाख २ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेता खड्काले स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय वैधानिक नभएको भन्दै अस्वीकार गरेका थिए ।
त्यसो त अदालतले कांग्रेसको आधिकारिकता विवादबारे निर्णय गरेसँगै आइतबार साँझ सभापति गगनकुमार थापा र खड्काबिच भेटघाट समेत भइसकेको छ । त्यसलाई एकताको प्रक्रियाको रुपमा समेत हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया