काठमाडौं । नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि पहल गर्न संस्थापन समूहलाई आग्रह गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी निर्णय गरेसँगै आज बसेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । उक्त बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टी एकताको पहल गर्न आह्वान गरिएको सो समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
आइतबार धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औँ महाधिवेशनका पदाधिकारीहरु, केन्द्रीय सदस्य, प्रदेश सभापति र मुख्यमन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।
‘अब पार्टीलाई मजबुद बनाउने कुरामा, पार्टीमा बृहत एकता कायम गर्नुपर्नेछ । त्यो एकताको पहल चाँही आयोगबाट र अदालतबाट म्याण्डेट प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापा र उहाँको कार्यसमितिले पहल गर्नुपर्दछ । र यदी यो पहल गर्न ढिलाइ गर्नुभयो भने यसबाट पार्टीमा गम्भीर क्षति पुग्न सक्छ । सँगसँगै हाम्रो पनि भूमिका हुन्छ,’ उनले भने ।
त्यसो त यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै वैशाखको अन्तिम साताका लागि १५औँ महाधिवेशन तोकेको थियो । यता विशेष महाधिवेशनपछि आएको नेतृत्वले आगामी असोजको दोस्रो साता १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ ।
आजको बैठकमा ती दुवै कार्यतालिकाहरुलाई समायोजन गरेर एउटै कार्यतालिकामा १५औँ महाधिवेशन गर्न सुझाव दिएको छ । यदी त्यसो हुन नसकेको खण्डमा दुई वटा महाधिवेशन हुने र त्यसले पार्टीलाई विभाजन गर्ने उनको दाबी रहेको छ ।
‘शेरबहादुर देउवा नेतृत्वकै कार्यसमितिले वैशाख २८, २९, ३० ३१ का लागि १५औँ महाधिवेशन काठमाडौंमा गर्ने भन्ने थियो । त्यस्तै विशेष महाधिवेशनबाट आएको नेतृत्वले पनि आगामी भदौको अन्तिममा असोजतिर महाधिवेशन गर्ने भनेको छ । तर ती दुइवटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यकतालिका बनाउने स्थिति बन्यो भने त्यो बेला पार्टी एकता भएको मानिनेछ । यदी होइन पार्टी एकताका लागि पहल भएन, भने दुई वटा महाधिवेशन हुन्छ । त्यसले पार्टीलाई विभाजन तर्फ लैजान्छ,’ उनले भने ।
त्यस्तै देउवा समूहले छिट्टै निवर्तमान केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुको बैठक बस्ने र जिल्लादेखि प्रदेशस्तरको बैठक बस्ने उनले बताए । साथै राष्ट्रिय भेला गरेर अघि बढ्ने तयारीमा देउवा पक्ष रहेको छ ।
त्यसो त सर्वोच्च अदालतको निर्णय मान्ने देउवा पक्षले निर्णय गरे पनि निर्णय चित्त नबुझेको भन्दै पुनरावलोकनमा जाने सुझाव समेत आएको विश्वकर्माले बताए ।
‘अब छिट्टै निवर्तमान केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्नेछ । त्यसपछि चरणबद्ध रुपमा प्रदेशहरुको पनि बैठक बस्छ, जिल्लास्तरको पनि बैठक बस्नेछ र बृहत राष्ट्रिय भेला गर्नेछ । सँगसँगै अदालतबाट भएको फैसलामा चित्त बुझेको छैन, त्यसकारण चित्त नबुझेको कुरामा अहिले हामीले फैसलालाई स्वीकार गर्नैपर्यो अवज्ञा गर्न मिल्दैन । सँगसँगै पुनरावलोकनमा पनि जाने कि भन्ने सुझाव आएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया