बाटो ‘क्रस’ गर्दै गर्दा एम्बुलेन्सको ठक्करबाट हजुरबा र नातिको मृत्यु, अन्य दुई जना घाइते

लोकपथ
147
Shares

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट हजुरबुवा र नातिको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज आइतबार बिहान सवा ५ बजे सडक पार गर्ने क्रममा उनीहरूलाई एम्बुलेन्सले ठक्कर दिएको थियो । लुम्बिनी बा–०–३०५ नम्बरको सो एम्बुलेन्स बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै थियो । 

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति ९ वर्षीय रिहान्सको मृत्यु भएको हो । रिहान्सको जिल्ला अस्पताल बर्दियामा र भूमिराजको बाँकेको नेपालगन्जस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन् । उनीहरू दुवैको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ । 

योग गुरुसमेत रहेका भूमिराज योग गर्न आयुर्वेद अस्पताल जाँदै गर्दा सो घटना भएको हो ।

प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । घटना हुँदा एम्बुलेन्समा चालक मात्रै थिए ।

ठक्कर दिने एम्बुलेन्स बाँके कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?