कांग्रेस नेता महतको प्रस्ताव : १५ औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र निर्माण गरौँ

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् ।

शनिबार नेता पूर्णबहादुर खड्काको निवासमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

महतले पार्टीलाई एक ढिक्का बनाएर सहमतिपूर्ण ढंगबाट अघि बढ्न साझा संयन्त्र आवश्यक रहेको बताए । उनका अनुसार उक्त संयन्त्रलाई महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार दिइनु पर्नेछ, जसबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व रहनेछ ।

उनले विशेष महाधिवेशनमा पार्टीको एक पक्ष मात्र सहभागी भएको उल्लेख गर्दै त्यसबाट निर्वाचित कार्यसमितिका निर्णयहरू एकपक्षीय भएको टिप्पणी गरे। महतले दुवै पक्षको सहभागितामा साझा संयन्त्र निर्माण गरी त्यसैमार्फत महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

‘हामी सबै एक भएर जाने पक्षमा छौँ, तर एक हुने नहुने भन्ने कुरा हामीभन्दा पनि उहाँहरूमा निर्भर छ,‘उनले भने ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो । उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको थियो। शुक्रबार सर्वोच्च अदालतले थापा पक्षलाई वैधानिकता दिएसँगै १४औँ महाधिवेशनका पदाधिकारीहरूबीच छलफल तीव्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?