काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ ।
अन्य दलहरुले दलको नेता छानिसक्दा कांग्रेसले अझैसम्म दलको नेता छान्न नसकेको हो ।
संसदीय दलको नेताको विषयमा छलफल गर्न आज सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो । तर बैठक बिना निष्कर्ष टुंगिएको कांग्रेस सांसद निश्कल राईले लोकपथलाई जानकारी दिए ।
आजको बैठकमा सबै सांसदहरुको धारणा लिने काम भएको र उपस्थित सांसदहरुले आ–आफ्नो धारणा राखेको सांसद राईले बताए ।
‘आजको बैठकमा सबै माननीयहरुको धारणा लिने काम भयो । सबैले आफ्नो धारणासहित राय सल्लाहसहित पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा छलफल भयो,’ उनले भने ।
बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य समेत रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेता छनोटमा मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । यसअघि नै उनले मापदण्डका आधारमा दलको नेता छान्नुपर्ने अडानलाई आजको बैठकमा समेत राखेका हुन् ।
‘दलको नेता छनोटका लागि एउटा मापदण्ड बनाएर जाऔँ । त्यसका लागि सबैको सर्वसम्मपति हुन्छ भने सबैभन्दा कान्छो सांसदलाई बनाउँदा पनि भयो । तर त्यसले पार्टीमा विभाजन ल्याउन भएन,’ उनले बैठकमा भनेका थिए ।
आज सर्वसम्मत निर्णय हुन नसकेपछि आइतबारका लागि पुनः बैठक बोलाइएको छ । आइतबारको बैठकमा नेता छान्ने गरी तयारी गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया