काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘भूमिगत महिला’ नामक पुस्तकबारेको कार्यक्रममा बोल्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता आवश्यक रहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतन्त्रका विषयमा प्रश्न उठ्न थालेको भन्दै त्यसलाई जोगाउन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने धारणा राखिन् ।
उनले अनुभवहीन नयाँ राजनीतिक शक्तिहरूको उदयले देशको भविष्यबारे विभिन्न आशंका उत्पन्न भएको टिप्पणी गर्दै पुराना र स्थापित दलहरूले अझ सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।
भण्डारीले भनिन्, ‘अहिले परिस्थिति बदलिएको छ। नयाँ पात्रहरूको आगमन भएको छ, तर अनुभव नभएका नेतृत्वले राष्ट्रिय एकता, स्वाभिमान, सार्वभौमिकता र जनजीविकासँग सम्बन्धित विषयमा प्रश्न उठाइरहेका छन्। यस्तो अवस्थामा हामी सबैले सक्रिय भएर देश र जनताको पक्षमा काम गर्नुपर्ने बेला आएको छ ।’
उनले हालै सम्पन्न निर्वाचनपछि राजनीतिक दलहरूलाई आफ्ना गतिविधि पुनः समीक्षा गर्दै सावधानीपूर्वक अघि बढ्नुपर्ने अवस्था आएको पनि उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया