काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी दलहरूबीच एकता गर्ने बहसभन्दा पार्टीभित्र सुधार र पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्तमान अवस्थामा ‘वाम एकता’को नाममा दौडधुप गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन् ।
उनले विगतमा पद प्राप्तिका लागि गरिएको एकताले सकारात्मक परिणाम दिन नसकेको स्मरण गर्दै अहिलेको प्रयास पनि सीमित व्यक्तिको स्वार्थमा केन्द्रित हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाण्डेले स्पष्ट विचार, सिद्धान्त र साझा गन्तव्यबिना गरिने एकताले पार्टीको मूल्य–मान्यता कमजोर बनाउने बताएका छन् ।
एमाले ऐतिहासिक विरासत बोकेको बलियो पार्टी भएकाले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनले जोड दिएका छन् । पार्टीलाई प्रभावकारी र एकताबद्ध बनाउन युवा पुस्तालाई भित्र्याएर क्षमतावान नेतृत्व विकास गर्नुपर्ने उनको सुझाव छ ।
उनले वैचारिक आधारबिना गरिएको विगतको एकताको तीतो अनुभव दोहोरिन नदिन चेतावनी दिँदै अब पार्टीलाई विधि, सुशासन र परिणाममुखी नेतृत्वसहित नयाँ दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया