‘सरकार आफ्नो सुविधा बढाउने र सांसदहरुको सुविधा कटौती गर्ने काममा लाग्यो’

लोकपथ
497
Shares

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी साह गरिमाले संसदप्रति अनुदार भएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योयोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो आरोप लगाएकी हुन् ।

सांसद साहले सरकारले आफ्नो सुविधा बढाउने तर सांसदहरुको सुविधा कटौति गरेको जिकिर समेत गरिन् । संसदलाई प्रभावकारी बनाउनुपर्नेमा वर्तमान सरकारले त्यसलाई कमजोर बनाउने कामलाई निरन्तर अघि बढाइरहेको सांसद साहको भनाई थियो ।

उनले संसदलाई प्रभावकारी बनाउन लागि तत्काल विज्ञहरुको समूह रहेको संरचना आवश्यक रहेको पनि बताइन् ।

उनले भनिन्, ‘बाहिर सांसदहरुले लुटेका छन्, खाएका छन् । धेरै कमाई गरिसके, घर बनाईसके भन्ने जुन गलत खालको म्यासेज छ । यो म्यासेज पनि हामीले तोडनुपर्छ जस्तो लाग्छ । हामीले यो समितिमार्फत पटक पटक के भनेका थियौँ भने साँच्चै संसदलाई प्रभावकारी बनाउने हो भने हामीलाई विज्ञहरुको एउटा रोष्टर हुनुपर्छ । चाहिएको बेलामा उपलब्ध हुनेगरी संसद भित्र विज्ञहरुको संरचना हुनुपर्छ । त्यसका लागि जनशक्ति थप गर्नुपर्छ भनेर माग गरिरहेका बेलामा सरकारबाट भएको सुविधाहरु पनि कटौति गर्ने जुन काम भयो । आफना सुविधाहरु बढाउने तर सांसदहरुको सुविधा भईरहेको छ सरकारबाट । संसदप्रति सरकार जहिले पनि अनुदार रहेको स्थिति छ । यसबारेमा पनि हामीले खवरदारी गर्नुपर्ने आवश्यक्ता छ ।’

सांसद साहले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?