पूर्णबहादुरले भने : ‘महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने जनाएको छ । 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार विज्ञप्तिमार्फत पार्टी सदस्यताबारे आफ्नो समूहको धारणा सार्वजनिक गरेका हुन् । यद्यपि, विज्ञप्तिमा उनले आफूलाई कार्यवाहक सभापति नै भएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा उनले भनेका छन्, ‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन ।’

उनले पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको पनि जिकिर गरेका छन् । 

खड्काले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो, पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।’

पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजुद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिकाभित्र नै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५ औँ महाधिवेशन सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ ।

विशेष महाधिवेशनअघि १५ माघमा कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी बैशाख २८–३१ मा १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको थियो ।

तत्कालीन संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि र तत्कालीन महामन्त्री गगन थापा समूह निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्नेमा विभक्त रहिरहेको अवस्थामा थापा समूहले गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गरेको थियो । विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । थापा नेतृत्वको कार्यसमितिले आगामी १६–१९ असोजमा पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । 

संस्थापनइतर समूहले सो तालिकाप्रति आपत्ति जनाएको छ ।

उता, सोमबार नै महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘क्रियाशील खारेज होइन, उनले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले आफूलाई प्रश्न गरेको सन्दर्भमा भन्दै लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?