कांग्रेस संसदीय दलको नेता को ? नेता केसीले अघि सारे यी मापदण्ड

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले संसदीय दलको नेता को बन्ने वा कसलाई बनाउने भन्ने विषय पेचिलो बनिरहेको छ । संसदको दोस्रो शक्ति रहेको कांग्रेसमा अब बन्ने संसदीय दलको नेताको समेत विशेष भूमिका हुन्छ ।

यहीबिचमा रुपान्तरणको बहस गरिरहेको कांग्रेसमा युवालाई अघि सार्नुपर्ने तर्क समेत बलियो छ । तर सरकार दुई तिहाइ हाराहारीको बहुमतमा रहेका कारण सरकारको हरेक कामको निगरानी र उचित निर्णयका लागि अनुभवी नेता अघि सार्नुपर्ने बहस समेत चलिरहेको छ ।

यसैबिच संसदका सबैभन्दा ज्येष्ठ सदस्य समेत रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेताका लागि मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका सांसद केसीले आफ्नो कारण नै उक्त प्रक्रिया ढिला भएको भन्ने बाहिर चलेको चर्चा हल्ला मात्र रहेको समेत स्पष्ट पारेका छन् ।

‘प्रतिनिधिसभाको प्रमुख विपक्षी दल, नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक हो । तर ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक छ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मेरो कारण ले ढिलाइ भयो भन्ने वा नाता र नेताका भाष्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन् । यो असत्य र भ्रामक हो । मैले पार्टी भित्र र सार्वजनिक रूपमा नै भनिनै सकेको छु (सहमति को मापदण्ड बनाउ र सके सम्म सर्वसम्मती गरौ ! मेरो पुर्ण समर्थन हुनेछ ।’

त्यसो त कांग्रेसमा अहिले प्रत्यक्ष निर्वाचित व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज समेत उठिरहेको छ । तर सांसद केसीले भने प्रत्यक्ष र समानुपातिकका आधारमा सांसदमाथि विभेद गरिन नहुने बताएका छन् । उनले निश्चित मापदण्ड बनाएर योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुग्न आग्रह गरेका छन् ।

‘सबैभन्दा युवालाई गरौँ वा सबै भन्दा वरिष्ठलाई । प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित हुँदैन । तर पनि निर्वाचित नै गर्ने हो भने निस्चित मापदण्डको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णय मा पुगौँ । संसदीय दलको नेता केवल पद होइन, प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो । त्यसैले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक छ । सहमती हुन नसके तत्काल निर्वाचन मार्फत निर्णय मा पुगौँ । अब ढिलाइ नगरौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?