काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि छेडखानी भए सदन र सडक दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनअधिकार खोस्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे ।
दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे सकारात्मक सहयोग रहने बताए । तर संविधानमाथि छेडखानी, राष्ट्रिय हितमा आँच वा जनअधिकार कटौती हुने गतिविधि भए कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।
विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भएको भन्दै उनले सरकारलाई सचेत रहन आग्रह गरे ।
संविधान संशोधनबारे बोल्दै उनले आफूहरू संशोधनको विरोधी नभएको तर महिला, दलित, उत्पीडित वर्गको अधिकार विस्तार र संघीयता सुदृढ गर्नका लागि मात्र हुनुपर्ने धारणा राखे ।
त्यसैगरी, उनले हालैको निर्वाचन परिणामलाई असामान्य र असाधारण भन्दै पार्टीले गम्भीर समीक्षा गरिरहेको जानकारी दिए ।
पार्टी एकीकरण प्रक्रिया केही दिनभित्रै टुङ्ग्याइने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए । साथै जनवर्गीय सङ्गठन र विभागहरूको एकीकरणपछि देशभर वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गरिने पनि उनले उल्लेख गरे ।
दाहालले शान्ति प्रक्रिया, १२ बुँदे समझदारी र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा सहकार्य गरेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने आवश्यकता समेत औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया