उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रविको आश्वासनमा उम्मेदवारी दियौँ : ज्ञानेन्द्र शाही

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

शाहीले उपसभामुखको उम्मेदवारीले संसदभित्र पुराना र नयाँ भनिएका दलहरूको वास्तविक चरित्र उजागर भएको दाबी गरे । उनका अनुसार रास्वपाले दिएको आश्वासन पछि उम्मेदवारी दिइए पनि अन्ततः सो पक्षबाट धोका भएको उनले आरोप लगाए ।

उनले नयाँ र पुराना दलहरूबीच केवल साइनबोर्ड फरक भए पनि नीतिगत रूपमा समानता देखिएको टिप्पणी गर्दै वर्तमान राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। शाहीले राप्रपाको उम्मेदवारी केवल पदका लागि नभई आफूहरूले ‘आयातित व्यवस्था’ भनेको प्रणालीविरुद्धको संघर्षको रूपमा रहेको बताए ।

उनले भने, रास्वपा सभापतिबाट आश्वासन प्राप्त भएपछि संसदीय दलको सर्वसम्मत निर्णयबाट उम्मेदवारी दिइएको हो । तर, यस घटनाले राजनीतिमा स्पष्ट ध्रुवीकरण देखिएको र नयाँ–पुराना दलबीच नीतिगत भिन्नता खासै नरहेको पुष्टि भएको उनको भनाइ छ ।

रास्वपा सभापति लामिछानेको ‘ग्रीन सिग्नल’ पछि बिहीबार राप्रपाकी सांसद सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?