काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ ।
रास्वपाले उपसभामुख पदमा विपक्षी कुन दललाई सहयोग गर्ला भन्ने चर्चाबीच सो पार्टीले राप्रपालाई सघाउने भएको हो ।
रास्वपा सभापति रवि लामिछानेले आज राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन सम्पर्क गरी उपसभामुख पदमा राप्रपालाई सहयोग गर्ने वचन दिएका हुन् । शाहीले पनि सो कुराको पुष्टि गरेका छन् ।
‘रास्वपा सभापति रवि लामिछानेजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’ शाहीले भने ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् । एकै दलबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने भएकाले रास्वपाले राप्रपालाई सहयोग गर्ने भएको हो ।
आज उपसभामुख पदका लागि मनोनयन हुँदैछ । प्रतिनिधिसभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । राप्रपाबाट प्रतिनिधि सभामा ५ जना सांसद छन् ।
राप्रपाले सरस्वती तामाङलाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ । समानुपातिक तर्फबाट सांसद भएकी उनी नेता बुद्धिमान तामाङकी श्रीमती हुन् । सभामुख पुरुष निर्वाचित भइसकेकाले महिलालाई अघि सार्नुपर्ने संवैधानिक बाध्यता छ ।
उपसभामुखको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया