काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदमा सत्तापक्षले दम्भ नदेखाउने र देखाउन नहुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले सो कुरा बताएका हुन् ।
उनले विभिन्न देशको संसदीय अभ्यास र यसअघिका नेपालका विभिन्न संसदीय अभ्यास र प्रतिपक्षीको भूमिकाबारे प्रकाश पारे ।
भदौ २३ र २४ को जेनजी आन्दोलन त्यसअघिको सत्ताको दम्भका कारण हुन पुगेको समेत उनको दाबी छ । सत्तापक्षले दम्भ देखाउँदा आम नागरिकहरुमा वितृष्णा बढेको भन्दै आफूहरु राजनीतिक संस्कार देखाएर अघि बढ्ने बताए ।
‘सदनमा सत्तापक्ष बलियो हुँदै गर्दा उसले दम्भ देखाउने होइन । उसले दम्भ देखाउँदाको परिणाम त हामीले देखिसक्यौँ, भदौ २३ सम्झिरहनुपर्छ हामीले । हामीले उदारता देखाउनुछ, संस्कार देखाउनुछ, यसमा हामीले शिद्धान्त देखाउनुछ,’ उनले भनेका छन् ।
नेता झाले यसअघि संसद सीमित नेताहरुको स्वार्थ अनुसार अघि बढेको औल्याउँदै अब संसदमा शिद्धान्तको कुरा हुने बताए । साथै आफूहरुले संस्कारयुक्त राजनीतिलाई संसदमा प्रवेश गराउने बताए ।
‘यसअघि अगाडि संसद धेरैचोटी खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बस्यो । संख्या जहिल्यै गनियो र शिद्धान्त जहिल्यै कमजोर रह्यो । अब सदन शिद्धान्तको हुन्छ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया