तुल्सी अधिकारीले ६ करोड ५२ लाख रुपैयाँ आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर

सम्पत्ति शुद्धीकरणमा २१ करोडभन्दा बढीको बिगो कायम

लोकपथ
322
Shares

काठमाडौं । टिकटकर तुलसा अधिकारी भन्ने तुल्सी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको छ । बिहीबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध बिहीबार आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको हो ।

टिकटकर तुलसा अधिकारी ।

सहमतिमा शारीरिक सम्बन्ध राखेको विषयलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ ठगी गरेको र उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठितरुपमै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) समेत गरेको ठहर गर्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

हनी ट्र्याप अर्थात् आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुख्य प्रतिवादी बनाइएकी टिकटकर नवलपरासीको सुनवल (बर्दघाट सुस्ता पश्चिम) घर भएकी ३२ वर्षीय तुलसा भन्ने तुल्सी अधिकारी हुन् । आपराधिक लाभ लिने र संगठितरुपमा ठगी गर्ने कार्यमा संलग्न निलिका भन्ने नेलिका लामिछाने, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु र अशोक कुमार अग्रवालको संलग्नता रहेको अभियोग पत्रमा उल्लेख छ ।

लोकपथलाई प्राप्त ४७५ पृष्ठ लामो अभियोग पत्रमा तुल्सीले कसरी बार्गेनिङ गर्ने गरेकी थिइन्, कसरी शंकर चिमोरियासँग रकम लिइन् र कहाँ कहाँ कति सम्पत्ति जोडिन्, कस कसलाई रकम दिइन् र उनको आपराधिक कार्यमा को कसको कस्तो संलग्नता थियो भनी खुलाइएको छ ।

तुलसीविरुद्ध ठगी, आपराधिक लाभ (एक्सटर्सन), आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी पाँच कसुरमा अभियोग दायर गरिएको छ । उनी हाल फरार रही चीनमा रहेको उनको नाममा रातो सूची (रेड नोटिस) जारी गर्न पत्राचार भइसकेको अभियोग पत्रमा उल्लेख छ ।

यस मुद्दाकी अर्की प्रतिवादी २८ वर्षीय निलिका (नेलिका) लामिछाने भने प्रहरीले पक्राउ गरी साधारण जमानतमा छाडिसकेको छ । उनीबाहेक अन्य ९ जना (मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी माथि पनि कारबाहीको माग गरिएको छ ।

कसरी भयो ठगीको सुरुवात ?
जाहेरवाला अर्थात् पीडित शंकर चिमोरिया पेसाले अटो व्यवसायी हुन् । उनले गत साउन महिनामै प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जाहेरी र जिल्ला अदालतमा पेस गरिएको अभियोग पत्रअनुसार २०७५ सालमा व्यावसायिक सम्बन्धका क्रममा शंकर र तुल्सीबीच चिनजान भएको थियो । त्यसक्रममा दुबैजनाको आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि तुल्सीले सोही घटनालाई ‘जबरजस्ती करणी’मा फसाइदिने भन्दै ब्ल्याकमेल गरेर रकम असुल गर्न थालेको उल्लेख गरिएको छ ।

टिकटकर तुलसा अधिकारी ।

अभियोग पत्र अनुसार तुल्सीले ‘भनेजस्तो नगरे प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्छु’ भन्दै डर त्रास देखाएर पटक पटक गरेर रकम लिएको उल्लेख छ । सुरुमा बुटवलमा भेट भई खाजा खाने बहानामा होटेलमा पुराएर शारीरिक सम्बन्ध राखिएपछि त्यसैलाई हतियार बनाएर रकम असुली गर्न थालिएको अभियोग पत्रमा उल्लेख छ ।

तुल्सीले कहाँ कहाँ रकम तिर्न लगाइन् ?
प्रहरीको अनुसन्धानले तुल्सीको संगठित ठगीको तरिका र घटनाक्रम समेत विस्तृतमा खुलाएको छ । उनले शंकरलाई सातदोबाटोमा ७ लाख ७५ हजार, इमाडोलमा लाख ७५ हजार र गहनाको पसल खोल्न २५ लाख तिराएको उल्लेख छ । त्यसैगरी पछि पनि पसलको भाडा आफूलाई नै तिर्न लगाएको जाहेरीमा उल्लेख छ र त्यसको प्रमाण समेत मिसिलसाथ संलग्न राखिएको छ । त्यसै गरी पछि कुमारीपाटीमा तुल्सा कलेक्सन प्रालिको पसलको डेकोरेसन र सात महिनाको भाडा गरी १५ लाख ९० हजार रुपैयाँ तिरेको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी तुल्सीले दबाबमा राखी ४ लाख ३४ हजार रुपैयाँमा एप्रिला स्कुटर किन्न लगाएको, तत्कालीन समयमै २४ लाख ४१ हजारको सुनको गरगहना किन्न लगाएको –जसको हालको मूल्य करिब ८६ लाख रहेको) पटक पटक गरी आइफोन लगायतका मोबाइल मात्रै १२ लाख ८८ हजार रुपैयाँको किनाएको, तुल्सीकी छोरी ….. न्यौपानेको विद्यालयको फी मात्रै ८ लाख ६९ हजार तिरेको तथ्य बैंक स्टेटमेन्ट र बिलबाट देखिएको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी तुल्सीले भारत लगायतका देशमा पुगी सुरेन्द्र भक्त सुवाल, रविन श्रेष्ठ, बल बहादुर राउत क्षेत्री लगायतका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई ती रकमहरू हुन्डीमार्फत चीनमा पुर्‍याउने गरिएको भेटिएको अभियोग पत्रमा उल्लेख छ । यो रकम मात्रै १ करोड ४ लाख रहेको अभियोग पत्रमा उल्लेख छ ।

ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमै ६ करोड ५२ लाखको बिगो
तुल्सी अधिकारीले हनी ट्र्यापमा पारी जाहेरवाला शंकर अधिकारीलाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोग पत्रमा उल्लेख छ । यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो । सम्पत्ति शुद्धीकरणको बिगो भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

६ करोड ५२ लाखकाे आपराधिक लाभ कसरी २१ करोडको बिगो बन्यो ?
तुल्सीले शंकर चिमोरियासँग गैरकानुनीरुपमा पटक पटक गरी लिएको ६ करोड ५२ लाख रुपैयाँ नै आफ्नो तथा आफन्त र अन्य व्यक्तिको नाममा रहेका १९ भन्दा बढी बैंक खातामा ‘प्लेसमेन्ट’ गरेको पाइएको छ । यसरी विभिन्न बैंक खातामा सारेर ‘लेयरिङ’ गरिएको, घरजग्गा, सुन, कम्पनी शेयर, लकर र विदेशमा लगानी गरेर ‘इन्टिग्रेसन’ गरिएको अभियोगपत्रमा उल्लेख छ । यसरी बैंक खातामा प्लेसमेन्ट र लेयरिङ गरिएको कारोबार रकम २१ करोड ७४ लाख रुपैयाँ रहेको छ । यसरी सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड ७४ लाख रुपैयाँ बिगो कायम गरिएको हो ।

क कसको कस्तो भूमिका ?
मुख्य आरोपित तुल्सी अधिकारी (फरार) :
तुल्सी अधिकारीलाई ठगी, एक्सटर्सन र सम्पत्ति शुद्धीकरणको कसुरमा मास्टरमाइन्ड मानिएको छ । उनले आफ्नै छोरी …. न्यौपानेको नाममा खाता खोली कालो धन शुद्धीकरण गरेको र चीनको यिवु भन्ने स्थानमा ‘यिवु ट्युबिङ इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी’ समेत दर्ता गरेको भेटिएको छ । ३ वर्षको अवधिमा उनले ५३ पटक भारत, चीन, श्रीलंका, थाइल्यान्ड लगायतका देशमा विदेश भ्रमण गरेको ट्राभल हिस्ट्रीसमेत भेटिएको छ ।

निलिका भन्ने नेलिका लामिछाने :

अभियुक्त नेलिका लामिछाने

नेलिका लामिछाने तुल्सी अधिकारीको मुख्य सहयोगीमा रूपमा देखिएकी छिन् । नेलिकाले पीडित भनिएका जाहेरवालालाई ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिन पीडितको अफिस पुगेको प्रमाण र भिडियो समेत मिसिलसाथ संलग्न राखिएको छ । साथै कुराकानीका क्रममा नेलिकाले केस मिलाउन दबाब दिएको पाइएको छ । मुख्य प्रतिवादी तुल्सीले नेलिकाको बैंक खातामा मात्रै १९ लाख ८ हजार रुपैयाँ हालिदिएको पाइएको छ भने तुल्सीको स्कुटरसमेत नेलिकाले नै चलाउँदै आएको भेटिएको थियो । उक्त स्कुटर हाल प्रहरीले नियन्त्रणमा राखेको छ ।

अशोक कुमार अग्रवाल :
तुल्सी अधिकारीसँग ठगीमा जोडिएका अर्का अभियुक्त अशोक कुमार अग्रवाल हुन् । उनले शंकर चिमोरियासँग पटक पटक रकम लिई आफ्नो भान्जालाई पठाएको स्वीकार गरेको छन् । उनी पशुपति क्षेत्रमा नक्कली गरगहना बेच्ने व्यापारी हुन् ।

मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु :
तुल्सी अधिकारीको आपराधिक लाभको रकम आफ्नो बैंक खाता र नम्बर दिएर रकम असुलीमा सहयोग पुर्‍याउने व्यक्तिहरूका रूपमा अभियोग पत्रमा उल्लेख गरिएको छ । उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

सपना वली, इन्द्रप्रकाश वली, मनीषा केसी :
तुल्सी अधिकारीको तुल्सा कलेक्सन प्रालिमा कार्यरत कर्मचारीहरू हुन् उनीहरू । उनीहरूले आफ्नो नामको बैंक खाता प्रयोग गर्न दिएर शुद्धीकरण प्रक्रियामा ‘प्लेसमेन्ट’को भूमिका निभाएको अभियोग पत्रमा उल्लेख छ पाइएको छ ।

प्रयास पोखरेल (कानो मामा) :
टिकटकमा कानो मामा नामबाट परिचित व्यक्ति हुन् प्रयास पोखरेल । प्रयासले तुल्सीको छोरीलाई मायाले बोलाउने नाम टिपुरीको नामबाट टिपुरी कलेक्सन नामक कम्पनी दर्ता गरी आपराधिक लाभबाट प्राप्त भएको कालो धन लगानी गर्नमा मुख्य सहयोग रहेका व्यक्तिका रूपमा हेरिएको छ । टिपुरी कलेक्सनको वास्तविक धनी पनि तुल्सी नै रहेको अनुसन्धानले देखाएको छ ।

गंगा अधिकारी सुवेदी :
उनी तुल्सी अधिकारीकी दिदी हुन् । जाहेरवालाबाट ठगी गरी प्राप्त भएको रकम आफ्नो खातामा प्राप्त गरी उनले खर्च गर्ने गरेको अनुसन्धानमा पाइएको छ ।

मेघनाथ बस्याल :
आपराधिक लाभबाट प्राप्त रकमको सम्पत्ति शुद्धीकरण गर्न आफ्नो बैंक खाता प्रयोग गर्न दिएर सहयोग गरेको उनीमाथि अभियोग छ ।

१० वर्षको कैद र बिगोको दोब्बर जरिवानाको माग
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले दायर गरेको अभियोग पत्रमा तुल्सी अधिकारी लगायतका व्यक्तिहरूलाई ८ देखि १० वर्षसम्मको कैद सजाय र बिगोको दोब्बर जरिवानाको माग गरिएको छ ।

अभियोग पत्रमा संगठित अपराध ऐनअनुसार तुल्सी अधिकारी, निलिका लामिछाने, अशोक अग्रवाल, दिल कुमारी लिम्बु र मुकेश धानुकालाई ८ देखि १० वर्ष कैद सजाय र जरिवानाको समेत माग गरिएको छ ।

त्यसै गरी सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३०(१) अनुसार तुल्सीलाई २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो कायम गरी बिगोको दोब्बर रकम जरिवाना गराउन माग दाबी लिइएको छ ।

त्यसै गरी प्रतिवादी बनाइएकी नेलिका लामिछानेको हकमा तुल्सीको खाताबाट हालिएको १९ लाख ८ हजार रुपैयाँको दोब्बर जरिवाना माग गर्दै कैद सजायको समेत माग गरिएको छ ।

सपना वली, मेघनाथ बस्याल, प्रयास पोखरेल, गंगा अधिकारी सुवेदीलाई मतियार अर्थात् सहयोगी रहेको भन्दै आधा सजायको माग दाबी गरिएको छ ।

तुल्सा कलेक्सन प्रालिको हकमा बिगोको ५ गुणासम्म जरिवाना गरी कम्पनी खारेज गर्न माग दाबी लिइएको छ ।

कुन कुन सम्पत्ति र रकम रोक्का ?
अनुसन्धानका क्रममा तुल्सीको नाममा रहेको ललितपुर सैबुको ४ आनामा बनेको घर र नवलपरासीको जग्गा, गरिमा विकास बैंकको लकरमा रहेको ८४ लाख ६ हजार बराबरको सुनका गरगहना, विभिन्न बैंकका खातामा रहेको १ करोड १ लाखभन्दा बढी डिपोजिट, स्कुटर, तुल्सा कलेक्सनको ९४ लाख ५ हजार बराबरको स्टक र टिपुरी कलेक्सनको नाममा रहेको बैंक मौज्दातसमेत रोक्का गरिएको छ । निलिका लामिछानेको नाममा पोखरामा रहेको घरजग्गा समेत रोक्का गरिएको छ ।

तुल्सीले कमाएको कति हो ?
तुल्सीले आन्तरिक राजस्व कार्यालयमा देखाएको वैध आय जम्मा १ लाख ८८ हजार रुपैयाँ मात्रै रहेको अभियोग पत्रमा उल्लेख छ । तर, उनको बैंक कारोबार भने २१ करोडभन्दा बढी रहेको छ । विदेश भ्रमणमा मात्रै उनले ८२ लाख रुपैयाँभन्दा बढी खर्च गरेको अभियोगमा उल्लेख छ ।

उनको पछिल्लो यात्रा २०८२ साल भदौमा चीन रहेको र त्यहाँबाट हालसम्म नेपाल नफर्किएको अध्यागमन विभागको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?